बिहीबार, भदौ ४, २०८३

पशुपतिमा घुइँचो बढ्यो, ६ हजार सुरक्षाकर्मी परिचालन

पशुपतिको दर्शन गर्न आएका भक्तजनको सुविधाका लागि आज बिहान ३ बजेदेखि नै पशुपतिका चार ढोका खुला गरिएको छ । भक्तजनको भिड बढेपछि सुरक्षाा व्यवस्था कडा पार्न ६ हजार सुरक्षाकर्मी परिचालन गरिएको छ ।
 |  शुक्रबार, फागुन ९, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन ९, २०७६

काठमाडौं- महाशिवरात्रिका अवसरमा पशुपतिनाथको दर्शन गर्न बिहानैदेखि भक्तजनको भीड लागेको छ ।

मध्यान्ह १२ बजेसम्ममा करिब ५ लाख दर्शनार्थीले पशुपतिनाथको दर्शन गरिसकेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । लाखौँ भक्तजन पवित्र तीर्थस्थल पशुपति क्षेत्रमा लाम लागेर दर्शनको प्रतीक्षामा छन् ।

पशुपतिका चार ढोका खुल्ला, दर्शनका लागि १० वटा लाइन

पशुपतिको दर्शन गर्न आएका भक्तजनको सुविधाका लागि आज बिहान ३ बजेदेखि नै पशुपतिका चार ढोका खुला गरिएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा प्रदीप ढकालले जानकारी दिए ।

पशुपतिमा दर्शनका लागि बाहिरी क्षेत्रबाट प्रवेश गर्ने पाँच वटा मूल लाइनको व्यवस्था गरिएको कोषले जनाएको छ । भित्र प्रवेश गरेपछि भने १० वटासम्म लाइनको व्यवस्था गरी दर्शनार्थी प्रवेश गरेको आधा घण्टामा फर्कने गरी बिहानको व्यवस्थापन गरिएको उनले बताए ।

मित्रपार्क तथा गौरीघाट भएर उमाकुण्ड–दक्षिणामूर्ति हुँदै रूद्रगाडेश्वर उत्तरढोका, जयवागेश्वरी–ईटापाखा भएर भुवनेश्वरीस्थित फलामको सानो ढोका हुँदै पश्चिम ढोका, बत्तीसपुतली–गौशाला तथा एअरपोर्ट–तिलगङ्गा भएर पिङ्गलास्थान–सुमार्गी भवन हुँदै चार शिवालय–पञ्चदेवल दक्षिण ढोकाबाट एक/एक लाम गरी बाहिरी रुपमा दर्शन गर्ने व्यवस्था मिलाइएको सदस्य सचिव ढकालले जानकारी दिए ।

यसैगरी तिलगङ्गा राममन्दिरतर्फ समेत आवश्यकताअनुसार एक लामको व्यवस्था गर्न सकिने गरी व्यवस्थापन मिलाउन लागिएको उनले बताए । नित्य दर्शनार्थीका लागि बिहान ७ बजे अगावै भुवनेश्वरीस्थित फलामको सानो ढोकाबाट प्रवेशको व्यवस्था मिलाइएको थियो । जुन दर्शनमार्गबाट मन्दिर प्राङ्गण प्रवेश गरिन्छ सोहीमार्ग हुँदै मन्दिर प्राङगणबाट बाहिरिने व्यवस्था मिलाइएको छ ।

दर्शन गर्न आउने दर्शनार्थीको सवारी पार्किङका लागि सिफल, तिलगङ्गा, गुह्येश्वरी पारि, कोषको कार्यालय, वनकालीलगायत स्थानमा व्यवस्था मिलाइएको छ ।

६ हजार सुरक्षाकर्मी परिचालन, गाँजा खाए सिधै जेल !

महाशिवरात्रिमा पशुपति क्षेत्रमा भक्तजनको भीड लाग्ने भएपछि तीनवटै सुरक्षा निकायका गरी ६ हजार सुरक्षाकर्मी परिचालन गरिएको छ । यसैगरी पाँच हजार स्वयंसेवक पनि पशुपति क्षेत्रमा परिचालन गरिएको पशुपति विकास कोषले जनाएको छ ।

दुई वर्ष अघिदेखि नै पशुपतिमा गाँजा, भाङ, धतुरोलगायत लागुपदार्थ निषेध गरिएको थियो । यस वर्ष पनि त्यसलाई निरन्तरता दिइएको छ ।

यसवर्ष अझै गाँजा खानेविरुद्ध अझै कडा अभियान चलाउँदै गाजा खाएको भेटे तत्कालै पक्राउ गर्ने प्रहरीको तयारी छ । यस्ता पदार्थ सेवन, बेचबिखन गरेको पाइएमा प्रहरीले समातेर जेलसमेत हाल्न सकिने चेतावनी दिएको छ ।
युवाहरुमाथि प्रहरीले विशेष निगरानी राखेको छ ।

मन्दिर सजावटमा विशेष ध्यान

यस वर्षको महाशिवरात्रिमा मन्दिर परिसर साजसजावटमा विशेष ध्यान दिइएको छ ।

नेपाललगायत विदेशबाट समेत फूलमाला ल्याएर मन्दिर सजावट गरिएको छ । यसपटक नेपाल भ्रमण वर्षको अवसर समेत परेकाले पशुपति क्षेत्रलाई विशेष रुपमा सिँगारिएको छ ।

लाखौँ भक्तजनलाई पशुपति क्षेत्रको भ्रमण गराउने उद्देश्यले संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेशकुमार भट्टराईको संयोजकत्वमा १११ सदस्यीय मूल समारोह समिति गठन गरिएको छ ।

मूल समारोह समितिअन्तर्गत ११ उपसमिति पनि गठन गरिएको कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडाले जानकारी दिनुभयो । ११ वटै उपसमितिको सक्रियतामा आज रातभर पनि भक्तजनले पशुपतिनाथको पूजा आराधना एवं दर्शन गर्न सक्ने गरी व्यवस्थापन मिलाइएको छ

यस्तो छ महाशिवरात्रीको महिमा

प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको विशेष पूजा–आराधना गरिन्छ ।

पर ब्रह्मले फागुन कृष्ण चतुर्दशीका दिन मध्यरातमा शिवरुप धारण गरेकाले मध्यरातमा चतुर्दशी तिथि परेकै दिन पूजा, आराधना, दर्शन गरे यस लोकमा सुख शान्ति र परलोकमा सद्गति प्राप्त हुने शास्त्रीय वचन रहेको समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिए ।

पूजा आराधना गर्दा महादेव छिट्टै प्रसन्न हुने भएकाले आशुतोषसमेत भनिन्छ । यसैले आज बिहानैदेखि वैदिक सनातन हिन्दू धर्मावलम्बी नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गई श्रद्धाभक्तिपूर्वक पूजा–आराधना गर्दछन् ।

शिवजी उत्पत्ति हुनुभएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा शिव पुराण लगायतका ग्रन्थमा उल्लेखित छ ।

प्रकाशित: Feb 21, 2020| 09:07 शुक्रबार, फागुन ९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।