काठमाडौं- पदबाट राजीनामा गरेका निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले बाहिर आएको अडियो काटेर मिलाएको हुनसक्ने बताएका छन् ।
बिहीबार राजीनामा गरेपछि बालकोट पुगेर आफ्ना समर्थकसँगको भेटमा उनले आडियो काटेर मिलाएर आफूलाई फसाइएको बताएका हुन् ।
उनले बाहिर आएको अडियो एनिमेटेड हुन सक्ने बताएका छन् । बिहीबार ७० करोड कमिसनको सेटिङ मिलाएको उनको अडियो सार्वजनिक भएको थियो ।
अडियोमा उनले कर्मचारीलाई अश्लिल गाली गर्दै जतिसक्दो बढि कमिसन मिलाउन एजेन्टलाई दबाब दिएका थिए । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका लागि एक स्विस कम्पनीका नेपाली एजेन्ट विजय प्रकाश मिश्र शर्मासँग कुराकानी गर्दै उनले कमिसनको सेटिङ मिलाएका थिए ।
अडियो सार्वजनिक भएपछि नैतिकताका आधारमा पदबाट राजीनामा गरेका उनले आफू छानविनका लागि सहयोग गर्न तयार रहेको बताएका छन् ।
बाँस्कोटाले यस विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो, संसद र पार्टीले छानबिन गरेर सत्यतथ्य स्पष्ट पार्ने बताएका छन्।
‘यसमा अब अख्तियार, सीआईबी, संसद र पार्टीले पनि छानबिन गरेर सत्यतथ्य स्पष्ट गर्नुपर्छ’, उनले भने, ‘मेराबारेमा प्रश्न उठेपछि नैतिकताका आधारमा राजीनामा दिएको छु।’
एउटा राजनीतिक मान्छेमाथि प्रश्न उठेपछि ठ्याक्क राजीनामा दिएको उनको भनाइ छ। ‘सत्य होला, असत्य होला एनिमेसन होला, सातवटा जोडेर अडियो बनाएको होला, सही होला वा नहोला, त्यो बेग्लै चिज हो’, तर छानविनका लागि आफूले राजीनामा दिउको उनले आफ्ना समर्थकहरुलाई बताएका छन् ।