काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले स्वीट्जरल्याण्डको एक कम्पनीका नेपाली एजेन्ट विजय मिश्रसँग गरेको घूसको ‘डिल’ सार्वजनिक भएपछि आज दिनभर त्यसैको सेरोफेरोमा घुम्यो राजनीति। अडियो सार्वजनिक भएको २४ घण्टाभित्रै बाँस्कोटा राजीनामा दिन बाध्य भए ।
सामाजिक सञ्जालमा आलोचना र दबाब
एक अनलाइनमा अडियो सार्वजनिक भएपछि सामाजिक सञ्जालमा बाँस्कोटाको आलोचना सुरु भयो । अन्य अनलाइनले पनि समाचार समाचारको फलोअप गर्न थाले ।
सुरुमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, राप्रपा अध्यक्ष कमल थापा, पत्रकार कनकमणि दीक्षितलगायतले ट्विट गरे । डा. भट्टराईले प्रधानमन्त्री केपी ओलीलाई कटाक्ष गर्दै अरूको आङमा जुम्रा खोज्नु भन्दा पहिले आफ्नै आङको भैंसी हेर्न अलीलाइ आग्रह गरे ।
राप्रपा अध्यक्ष कमल थापाले सञ्चारमन्त्रीलाई तत्काल हटाएर छानबिन गर्न प्रधानमन्त्रीसँग आग्रह गरे ।
पत्रकार कनकमणि दीक्षितले मन्त्री बाँस्कोटाको राजीनामाको विकल्प नभएको भन्दै ट्विट गरे– ‘सञ्चारमन्त्रीको राजीनामासहित तत्काल छानबिनको शुरुवातको विकल्प छैन। घूसको लेनदेनमा ट्रान्सपरेन्सीको कुरा !! कर्मचारीबारे कस्तो फोहोरी अभिव्यक्ति !!
डा. रामेश कोइरालाले व्यंग्य गर्दै ट्विट गरे– मलाई चैँ विदेशीले नेपाली मन्त्रीहरूलाई कसरी घूस ख्वाउँदा रहेछन् भनेर तिनका एजेन्टबाट कुरो धुतेर यस्ता खरिदमा देउवा एण्ड कम्पनीले पहिला कसरी घूस खाएका थिए र कोसँग प्रमाण हुनेरहेछ भनेर गहन छानबिन गर्न यो वार्तालाप गरिएको थियो र अहिले देउवा डराएर उल्टो दोष लगाएका हुन् भन्ने लाग्छ।
टेलिभिजनकर्मी रवि लामिछानेले ट्विट गरे– बिरामी प्रधानमन्त्रीलाई भजाएर आफ्नो धन्दा चलाउने अन्य नजिकका पात्रहरुको कर्तुत पनि हेर्दै जाउँ,३ वर्ष बाँकी छ। कुरौं... नोटः प्रमाण लुकाउन सक्ने हैसियत भएका आरोपित मन्त्रीले तुरुन्त राजीनामा दिनुपर्छ र अबिलम्ब छानबिन शुरु हुनुपर्छ। राजीनामा नदिए कार्यकक्षबाटै पक्राउ गरिनु पर्छ ।
पत्रकार विजय कुमारले प्रधानमन्त्री केपी ओली नैतिक कठघरामा परेको भन्दै ट्विट गरे– आरोप सञ्चारमञ्त्री गोकुल बाँस्कोटालाई लागेको भएता पनि नैतिक कठघरामा प्रधानमन्त्री ओलीजी पर्नुभएको छ। दोष प्रमाणित होला–नहोला त्यो आफ्नै ठाउँमा छ । तर गणतन्त्र नेपालको प्रधानमन्त्री पदको गरिमा रक्षाका लागि पनि गोकुलजीले हाल पदबाट राजीनामा गर्दा उपयुक्त हुन्छ।’
मार्गप्रशस्त गर्न नेकपाको निर्देशन
अनलाइन मिडियामा समाचार फलोअप र सोसल मिडियामा दबाब तीव्र भएपछि नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आकस्मिक छलफलमा जुटे ।
छलफलमा गृहमन्त्री रामबहादुर थापा र पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ पनि सहभागी थिए । बैठकमा मन्त्री बाँस्कोटालाई राजीनामा गर्न लगाउने सहमति जुट्यो र त्यसैअनुसार निर्देशन दिइयो ।
लेखा समितिमा चर्काचर्की
आज नै सेक्युरिटी प्रेस खरिद प्रकरणमा प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिमा छलफल हुने कार्यक्रम थियो। बैठकअघि नै अडियो सार्वजनिक भएपछि छलफल त्यतै मोडियो ।
समितिको आजको बैठकले मन्त्री बाँस्कोटाको अडियो रेकर्ड गरेका विजयप्रकाश मिश्रलाई कारबाही गर्न निर्देशन दिएको छ । समितिले बिहीबार नेपाल प्रहरीको साइबर क्राइम ब्यूरोलाई पत्र लेखेर यस्तो निर्देशन दिएको हो । लेखा समितिका सदस्यहरूको चरित्र हत्या गरेको भन्दै समितिले कारबाही गर्न पत्राचार गरेको हो ।
फेसबुकमा जथाभावी लेखेको भन्दै समितिका सदस्यहरुले प्रभात किशोर उपाध्यायलाई पनि कारबाहीको माग गरेका छन् । उनले समितिका सदस्यहरूकोे तस्बिर राखेर ‘४ अर्ब खाएर जर्मन कम्पनीलाई ठेक्का दिन लागेको’ स्टाटस लेखेका थिए।
कांग्रेसको तत्काल प्रतिक्रिया र पत्रकार सम्मेलन
अडियो सार्वजनिक भएको केही घण्टामै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विज्ञप्ति जारी गरेर मन्त्री बाँस्कोटालाई तत्काल बर्खास्त गर्न माग गर्यो। यही विषयलाई लिएर कांग्रेसले पत्रकार पत्रकार सम्मेलन पनि आयोजना गर्यो । ‘प्रिन्टिङ प्रेस प्रकरणको पछाडि ठूलो रकमको घोटाला भएको छ,’ पत्रकार सम्मेलनमा प्रवक्ता शर्माले भने, ‘यसको पछाडि क–कसको संलग्नता थियो, त्यो खोज्नु पर्छ।’
उनले थपे, ‘मन्त्रीज्यूलाई बर्खास्त गरेर छानविन गर्नु प्रधानमन्त्रीज्यूको जिम्मेवारी हो। प्रतिशोध नराखी छानविन हुनुपर्छ। यस विषयमा प्रधानमन्त्रीले सम्बोधन गर्नुपर्छ।’
राष्ट्रियसभा अवरुद्ध
यही विषयलाई लिए प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रियसभा बैठक अवरुद्ध गर्यो । मन्त्री बाँस्कोटालाई बर्खास्त नगरेसम्म राष्ट्रियसभा बैठक चल्न नदिने घोषणा गर्दै कांग्रेसले बैठक अवरुद्ध गरेको हो।
बैठकको सुरुमै कांग्रेसका सांसद जितेन्द्रनारायण देवले सञ्चारमन्त्री बाँस्कोटाको टेप प्रकरणमा प्रधानमन्त्रीले जवाफ नदिउन्जेलसम्म संसद बैठक अवरुद्ध गर्ने बताए। उनले टेप प्रकरणबारे तत्काल छानबिन हुनुपर्ने पनि माग गरे । कांग्रेसको अवरोधका कारण राष्ट्रियसभाको बैठक फागुन १५ गतेसम्मका लागि स्थगित भयो ।
‘आरोप ठूलो कुरो होइन’
आफ्नो आलोचना भइरहँदा कञ्चनपुरमा रहेका मन्त्री बाँस्कोटा एक कार्यक्रममा कार्यकर्तामाझ भाषण गरिरहेका थिए। ‘ममाथि लागेको आरोप प्रमाणित भए सजाय भोग्न तयार छु । राजनीतिक रङ दिएर अफवाह फैलाउनुको अर्थ छैन,’ उनले भने ।
जनपक्षीय काम गर्दै गएमा प्रतिक्रियावादी वर्ग आफैं परास्त हुने मन्त्री बाँस्कोटाको भनाइ थियो। ‘आरोप आफैंमा ठूलो कुरो होइन, आरोप दिनदिनै लाग्छ । सरकार सञ्चालन गर्दा आरोप लाग्दै जान्छ,’ उनले भने ।
सञ्चारमन्त्रीलाई बहिष्कार गर्ने कर्मचारीको चेतावनी
मिश्रसँगको वार्तालापमा मन्त्री बाँस्कोटाले एक सरकारी कर्मचारीलाई अपशब्द बोलेका छन् । यो कुरालाई निजामती कर्मचारी आक्रोशित भएका छन्। उनीहरुले मन्त्री बाँस्कोटालाई बहिष्कार गर्ने चेतावनी दिए । सरकारका प्रवक्तासमेत रहेका मन्त्री बाँस्कोटाले अपशब्द प्रयोग गरेकोे विरोधमा कर्मचारी आक्रोशित भएका हुन्।
घूस प्रकरणसँग सम्बन्धित अडियोमा ‘यी मु... कर्मचारीलाई यस्तो कुरा गर्न लाग्यो भने यिनले हेप्छन्’ भन्ने सञ्चारमन्त्री बाँस्कोटाको अभिव्यक्ति सार्वजनिक भएपछि नेपाल निजामती कर्मचारी युनियन (संघ) ले आपत्ति जनाएको हो।
संघको विज्ञप्तिमा भनिएको छ, ‘मन्त्री बाँस्कोटालाई बहिष्कार गर्नैपर्ने दिन देख्न नपरोस्। भ्रष्टाचार भए–नभएको सम्बन्धमा सम्बन्धित निकायको समेत ध्यानाकर्षण गराउन चाहन्छौं।’ सञ्चार तथा सूचना प्रविधिमन्त्रीले भ्रष्टाचार गर्न सेटिङ गरेको तथ्य बाहिरिनु र राष्ट्रसेवकलाई प्रयोग भएको शब्दले आम राष्ट्रसेवक दुःखी भएको विज्ञप्तिमा जनाइएको छ।
प्रधानमन्त्रीका विश्वासपात्र र सरकारको प्रवक्ताबाट यस्तो उपेक्षाबोधक र अश्लील शब्दले आम राष्ट्रसेवकलाई मानमर्दन गर्नु खेदयोग्य र कारबाहीजन्य अपराध रहेको ठहर कर्मचारीले गरेका छन् ।
प्रतिनिधिसभा पनि अवरुद्ध
आज दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठक झन्डै दुई घटा ढिलो गरी बस्यो । सभामुखले बैठक सुरु भएको जनाउ दिनासाथ कांग्रेसका सांसदहरुले उठेर विरोध जनाए । त्यसपछि सभामुख अग्नि सापकोटाले कांग्रेस सांसद पुष्पा भुसाललाई बोल्न समय दिए । भुसालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई उनले नै बारम्बार भन्ने गरेको वाक्यांश सम्झाइन् ।
भुसालले सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाले ७० करोड घूस मागेको अडियो सार्वजनिक भएको प्रसंग उल्लेख गर्दै प्रधानमन्त्रीले आफू पनि भ्रष्टाचार नगर्ने र भ्रष्टाचार गर्नेको अनुहार पनि नहेर्ने भनेको कुरा स्मरण गर्न आग्रह गरिन् ।
‘प्रधानमन्त्रीले बारम्बार भन्नुहुन्थ्यो– भ्रष्टाचार नगर्ने र गर्न नदिने कुरा । तर, अहिले उहाँकै मन्त्रीले ७० करोड घूस मागेको अडियो बाहिर आएको छ । सञ्चारमन्त्रीलाई अब्बल भन्नुभएको थियो । भ्रष्टाचारका लागि अब्बल ?’ उनले भनिन् ।
कांग्रेसले तीनवटा माग राखेको उनले बताइन् । पहिलो, गोकुल बाँस्कोटालाई बर्खास्त गर्नुपर्ने, दोस्रो, राजीनामा दिएर उन्मुक्ति दिन नपाइने, छानबिन गर्नुपर्ने र तेस्रो, प्रधानमन्त्रीले सदनमा जवाफ दिनुपर्ने ।
सांसद भुसालले बोलेपछि कांग्रेसका सांसदहरु उठेर बैठक अवरुद्ध गरेका थिए। सभामुखको आग्रहपछि पनि सांसदहरु नबसेपछि सभामुखले बैठक फागुन १३ गतेसम्मलाई स्थगित गरे ।
सभामुखले नै दिए राजीनामाको जानकारी
कांग्रेसले प्रतिनिधिसभा बैठक अवरुद्ध गरेपछि सभामुख अग्नि सापकोटाले मन्त्री बाँस्कोटाले पदबाट राजीनामा दिएको जानकारी दिए । सभामुख सापकोटाले औपचारिक जानकारी भने आउन बाँकी रहेको बताएका थिए।
सभामुख सपाकोटाले ‘अब विषयमा प्रवेश गरौं, मन्त्री बाँस्कोटाले राजीनामा दिनुभएको जानकारी पाएको छु’ भनेर सांसदहरुलाई बैठक अवरुद्ध नगर्न आग्रह गरे पनि कांग्रेसले अवरोध जारी राखेपछि १३ गते १ बजे बस्ने गरी स्थगित गरे ।
‘नैतिकताका आधारमा राजीनामा दिएँ’
कञ्चनपुरबाट काठमाडौं फर्केपछि मन्त्री बाँस्कोटाले पदबाट राजीनामा दिएको जानकारी ट्विटर र फेसबुकमार्फत् दिए– मेरो बारेमा प्रश्न उठेकोले सम्माननीय प्रधानमन्त्रीज्यू समक्ष नैतिकताको आधारमा मन्त्री पदबाट राजीनामा दिएको जानकारी गराउँदछु। धन्यवाद ।’
पत्रकार सम्मेलन हुने समयमा राजीनामा
हरेक बिहीबार अपरान्ह ३ बजे भरिभराउ हुने सञ्चार मन्त्रालयको हल आज भने सुनसान रह्यो। हरेक बिहीबार अपरान्ह ३ बजे हुने पत्रकार सम्मेलन आज हुने हो कि होइन भन्ने अन्योलका बीच एकाध सञ्चारकर्मीमात्र मन्त्रालय पुगेका थिए।
मन्त्रिपरिषदले गरेका निर्णय सार्वजनिक गर्न सञ्चारमन्त्री तथा सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले मन्त्रालयमा हरेक बिहीबार पत्रकार सम्मेलन आयोजना गर्ने गरेका थिए ।
आज भने लगभग पत्रकार सम्मेलन हुने समयमा मन्त्री बाँस्कोटाले ट्विटर र फेसबुकमा राजीनामाको घोषणा गरे। एउटा विवादास्पद अडियो सार्वजनिक भएपछि उनले मन्त्री पदबाट हात धुनुपरेको हो।
‘मेरा कारण संसद नघेरियोस्’
राजीनामा दिएपछि मन्त्री बास्कोटाले लोकतन्त्रमा कुनै पनि व्यक्तिका कारण आन्दोलन गर्नुपर्ने र संसद घेर्नुपर्ने अवस्था आउन नहुने बताए। नेपाली कांग्रेसले संसदका दुवै सदन अवरुद्ध गरेको तर्फ लक्षित गर्दै उनले भने, ‘प्रश्न उठेपछि राजीनामा गर्नुपर्छ भन्नेमा प्रष्ट छु । कसैलाई छानबिनका निम्ति आन्दोलन गर्न लगाउन हुँदैन । डेमोक्रेसीमा कानुनी राज भनिसकेपछि संसद घेर्न लाउन हुँदैन।’
लेनदेनबारे जानकारी र संलग्नता छैनः दूतावास
मन्त्री बाँस्कोटासँग स्वीस कम्पनीका प्रतिनिधिले गरेको अडियो कुराकानीबारे नेपालस्थित स्वीट्जरल्याण्डको दूतावासले चासो देखाएको छ ।
दूतावासले आज जारी गरेको वक्तव्यमा भनिएको छ, ‘स्वीट्जरल्याण्डको राजदूतावास यो स्पष्ट गर्न चाहन्छ कि यस दूतावासले कुनै बैठकको आह्वान गरेको छैन । न त समाचारमा उल्लेखित विषयमा सञ्चार तथा सूचना प्रविधि मन्त्रीसँग निकट भविष्यमा कुनै छलफल तोकिएको थाहा छ । स्वीस कम्पनीका प्रतिनिधि भनेर समाचारमा उद्धृत गरिएका व्यक्तिको लेनदेनबारे दूतावास जानकार छैन । न त यसमा कुनै संलग्नता छ ।’
मन्त्री बाँस्कोटासँग भएको अडियो कुराकानीमा एजेन्ट विजय मिश्रले मन्त्रीसँग स्वीस दूतावासका प्रतिनिधि भेटका लागि आउन लागेको भनिएको छ । अडियोमा दूतावासको नाम आएपछि वक्तव्यमार्फत् दूतावासले खण्डन गरेको हो ।
राजीनामा स्वीकृत, सञ्चार मन्त्रालयको जिम्मा खतिवडालाई
सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले दिएको राजीनामा स्वीकृत भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बाँस्कोटाले दिएको राजीनामा स्वीकृत गरेकी हुन्। सञ्चार मन्त्रालयको जिम्मेवारी अर्थमन्त्री डा. युवराज खतिवडाले सम्हाल्ने भएका छन् ।
बाँस्कोटाले सञ्चारसँगै सहरी विकास मन्त्रालयको जिम्मेवारी पनि सम्हाल्दै आएका थिए । उक्त मन्त्रालयको जिम्मेवारी भने भौतिक पूर्वाधारमन्त्री वसन्तकुमार नेम्वाङले सम्हाल्ने भएका छन् ।