काठमाडौं- शिवरात्रीका अवसरमा पशुपति क्षेत्रलाई भव्य बनाउन पशुपति क्षेत्र विकास कोषले उक्त क्षेत्रलाई करिब दुई करोड रुपैयाँ मूल्य बराबरको फूलमालाले सिंगारेको छ।
वनकाली र जयवागेश्वरीबाट पशुपति जाने बाटोका मन्दिरहरुमा फूलैफूलले सजाइएको छ भने बाटोभरी विभिन्न डिजाइनका झिलिमिली बत्ती जडान गरिएको छ।
पशुपति क्षेत्र सिंगार्न अस्ट्रेलिया, कोरिया, थाइल्याण्ड र भारतबाट सयपत्री, गुलाब, गोदावरी, लिली, क्यामेसन लगायतका फूल आयात गरिएको कोषले जनाएको छ ।
पशुपतिमा आजैदेखि श्रद्धालुको घुँइचो लागिसकेको छ। नेपाल तथा भारतका विभिन्न स्थानबाट आएका साधुसन्त र भक्तहरुले पशुपति क्षेत्र भरिभराउ छ। विभिन्न भेष र स्वरुपमा आएका साधुहरुलाईै हेर्ने स्थानीयको पनि भीड लागेको छ।
कोही साधुहरु दिउँसैदेखि धुनी लगाएर आसन जमाएका छन्, कोही भजन किर्तन गरिरहेका छन्।
श्रद्धालुहरुको सुरक्षा, आवास, भोजनलगायतका सबै काम व्यवस्थित तरिकाले भइरहेको कोषले जनाएको छ। भोलि शिवारात्रीका अवसरमा पशुपति दर्शन गर्न आउने श्रद्धालुलाई मन्दिर प्रवेशमा सहयोग गर्न स्वयम्सेवकको समेत व्यवस्था गरिएको छ।
नेपाल प्रहरीको अगुवाइमा सशस्त्र प्रहरीसहित ६ हजार सुरक्षाकर्मी परिचालन गरिएको छ भने करिब ५ हजारको संख्यामा स्वयंसेवकहरु परिचालन हुनेछन्।
दर्शनार्थीलाई चारवटा लाइनबाट पशुपति मन्दिर प्रवेश गराउने र दुई घण्टाभित्र दर्शन गराइसक्ने कोषले जनाएको छ ।
यस वर्ष स्वदेशी र विदेशी गरी करिब २० लाखले पशुपति मेला भर्ने कोषको अनुमान छ।
माग्नेहरुको ताँती
पशुपतिक्षेत्रलाई मगन्तेरहित बनाउने घोषणा यसअघि नै गरिएको भए पनि त्यसक्षेत्रमा माग्नेहरु आइरहेकै छन्। अहिले मगन्तेहरुको संंख्या झन् बढेको छ।
पशुपति क्षेत्र पुग्ने जो कोहीसँग हात फैलाउँदै, खुट्टा ढोक्दै माग्नेहरु जताततै देख्न सकिन्छ। कोही साधुको भेषमा शरीरभरी खरानी दलेर पनि माग्न बसेका छन् भने कोही निधारमा चन्दन लगाउँदै माग्नेहरु पनि छन्। पैसा नदिनेलाई गाली गर्नेहरु पनि छन्।
गाँजाको व्यापार
पशुपति क्षेत्रमा गाँजा–भाङ, रक्सी जस्ता नशालु पदार्थको विक्रिवितरण, ओसारपोसार, भण्डारण एवं प्रयोग वा सेवन निषेध गरिए पनि साधुको भेषमा रहेकाहरुले नै गाँजाको विक्री गरिरहेको पनि देखिन्छ।
पशुपतिमा आउने बाबाहरुले खुला रुपमा गाँजाको किशोरककशोरीलाई गाँजा बेचिरहेका छन्। यसरी गाँजा विक्री गरिरहेका केहीलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ ।
इन्टरनेट नहुँदा बाबालाई बोर
वृन्दावनबाट आएको बताउने एक साधुले पशुपति क्षेत्रमा इन्टरनेट नहुँदा आफू बोर भएको बताए। दुई दिनअघि पशुपति आइपुगेको बताउने उनले इन्टरनेट नहुँदा समाचारबारे अपडेट हुन नपाएको र टाइमपास गर्न समेत असहज भएको दाबी गरे ।
उनले भने, “इन्टरनेट भए भिडियो हेरिन्थ्यो, टाइमपास गर्न सजिलो हुन्थ्यो। यहाँ त डाटा पनि राम्ररी चलेन। समाचारबारे अपडेट हुन पनि पाइएन।”
उनीसँगै आएका अर्का एक साधु भने हार्मोनियम बजाउनमा व्यस्त थिए ।