काठमाडौं– निजामती कर्मचारीले सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटालाई बहिष्कार गर्ने चेतावनी दिएका छन्।
सरकारका प्रवक्तासमेत रहेका मन्त्री बाँस्कोटाले अपशब्द प्रयोग गरेकोे विरोधमा कर्मचारीहरू आक्रोशित भएका हुन्।
घुस प्रकरणसँग सम्बन्धित एउटा अडियोमा ‘यी मु... कर्मचारीलाई यस्तो कुरा गर्न लाग्यो भने यिनले हेप्छन्' भन्ने सञ्चारमन्त्री बाँस्कोटाको अभिव्यक्ति सार्वजनिक भएपछि नेपाल निजामती कर्मचारी युनियन (संघ) ले आपत्ति जनाएको हो।
संघको विज्ञप्तिमा भनिएको छ, ‘मन्त्री बाँस्कोटालाई बहिष्कार गर्नैपर्ने दिन देख्न नपरोस्। भ्रष्टाचार भए नभएको सम्बन्धमा सम्बन्धित निकायको समेत ध्यानाकर्षण गराउन चाहन्छौं।’
सञ्चार तथा सूचना प्रविधिमन्त्रीले भ्रष्टाचार गर्न सेटिङ गरेको तथ्य बाहिरिनु र राष्ट्रसेवकलाई प्रयोग भएको शब्दले आमराष्ट्रसेवक दुःखी भएको विज्ञप्तिमा जनाइएको छ।
प्रधानमन्त्रीका विश्वासपात्र र सरकारको प्रवक्ताबाट यस्तो उपेक्षाबोधक/अश्लील शब्दले आमराष्ट्रसेवकलाई मानमर्दन गर्नु खेदयोग्य र कारबाहीजन्य अपराध रहेको ठहर कर्मचारीले गरेका छन् ।
यस सम्बन्धमा स्वतन्त्र छानबिन गरी दोषीउपर कारबाही गर्न संघले माग गरेको छ। विज्ञप्तिमा भनिएको छ, ‘अन्यथा नेपाल सरकारको गरिमा र भ्रष्टाचार नियन्त्रण नारामा मात्र सुशासन हुनेमा दुईमत छैन।’
