काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले घूस मागेको अडियो टेप सार्वजनिक भएपछि नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आकस्मिक छलफलमा जुटेका छन्। दुई अध्यक्षबीच बिहान भएको छलफलमा बाँस्कोटालाई राजीनामा गराउने विषयमा सहमति जुटेको बालुवाटार स्रोतले जनाएको छ ।
छलफलमा गृहमन्त्री रामबहादुर थापा र पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ पनि सहभागी थिए ।
प्रधानमन्त्री ओलीको सचिवालयका रामशरण बजगाईंले बाँस्कोटाको राजीनामा माग्ने विषयमा छलफल भइरहेको बताए ।
बालुवाटार स्रोतका अनुसार मन्त्री बाँस्कोटालाई राजीनामाका लागि आज नै प्रधानमन्त्रीले निर्देशन दिनेछन्।
हाल कञ्चनपुरमा रहेका मन्त्री बाँस्कोटाले एक कार्यक्रममा आफूले राजीनामा दिने संकेत गरेका छन्। ‘सञ्चारमन्त्री कसैको विर्ता होइन, कोही आउँछ कोही जान्छ । सबैले अवसर पनि पाउनुपर्छ,’ उनले भने।