काठमाडौं– सेक्युरिटी प्रेस खरिदमा स्वीस कम्पनीका एजेन्टसँग घूस मागेको अडियो सार्वजनिक भएपछि सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटा विवादित बनेका छन्।
सामाजिक सञ्जालमा उनको बर्खास्ती वा राजीनामाको माग गर्दै चर्को आलोचना भइरहेको छ भने प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि मन्त्री बाँस्कोटलाई बर्खास्त गरी छानबिन गर्न माग गरेको छ।
आज नै प्रतिनिधिसभा बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसँग सम्बन्धित विभिन्न विषयमा सांसदहरुले सम्बन्धित मन्त्री अर्थात् बाँस्कोटालाई प्रश्न सोध्ने कार्यसूची छ।
आज दिउँसो १ बजेका लागि बोलाइएको बैठकको कार्यसूचीको पहिलो नम्बरमा नै सांसदहरुले मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्न सोध्ने र मन्त्रीले उत्तर दिने कार्यसूची रहेको छ। संसद्को हिउँदे अधिवेशनमा गत मंगलबारदेखि प्रश्नोत्तर कार्यक्रम शुरू भएको थियो ।
आज नै नै सेक्युरिटी प्रेस खरिद प्रकरणमा संसदको सार्वजनिक लेखा समितिले सञ्चार मन्त्रालयका सचिव लगायतसँग छलफल गर्दैछ। सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा अनियमितताको आशंकामा लेखा समितिले छानबिन गरिरहेको छ ।
आज नै सञ्चार मन्त्रालयमा नियमित पत्रकार सम्मेलन पनि छ। मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न मन्त्री बाँस्कोटाले बिहीबार नियमित पत्रकार सम्मेलन समेत गर्दै आएका छन्।
पत्रकार सम्मेलनबारे अरुबेला ट्विटर, फेसबुकमा जानकारी दिने मन्त्री बाँस्कोटाले आज भने कुनै जानकारी दिएका छैनन्।