काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाको विवादास्पद अडियो सार्वजनिक भएपछि सामाजिक सञ्जाल तातेको छ। सेक्युरिटी प्रेस खरिदमा बाँस्कोटाले स्वीस कम्पनीको एजेन्टसँग घूसको बार्गेनिङ गरेको भनिएको अडियोलाई लिएर सामाजिक सञ्जाल तातेको हो।
यस विषयमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, राप्रपा अध्यक्ष कमल थापा, पत्रकार कनकमणि दीक्षितलगायतले ट्विट गरेका छन् ।
डा. भट्टराईले प्रधानमन्त्री केपी ओलीलाई कटाक्ष गर्दै अरूको आङमा जुम्रा खोज्नु भन्दा पहिले आफ्नै आङको भैंसी हेर्न अलीलाइ आग्रह गरेका छन् । प्रधानमन्त्रीलाई भट्टराईले सेधेका छन्, @kpsharmaoli ज्यू ! यही हो भ्रष्टाचार गर्दिनँ र भ्रष्टाचार गर्न पनि दिन्नँ भनेको ?
राप्रपा अध्यक्ष कमल थापाले सञ्चारमन्त्रीलाई तत्काल हटाएर छानबिन गर्न प्रधानमन्त्रीसँग आग्रह गरेका छन्- प्रम @kpsharmaoli ज्यू, तपाईंको एक शुभचिन्तकको हैसियतमा सुझाव दिन्छु- यस व्यक्तिलाई तत्काल हटाउनु होस् र आवश्यक छानविन गर्नुहोस्। ।
पत्रकार कनकमणि दीक्षितले मन्त्री बाँस्कोटाको राजीनामाको विकल्प नभएको बताएका छन् । ‘सञ्चारमन्त्रीको राजीनामासहित तत्काल छानबिनको शुरुवातको विकल्प छैन। घूसको लेनदेनमा ट्रान्सपरेन्सीको कुरा !! कर्मचारीबारे कस्तो फोहोरी अभिव्यक्ति !!
पत्रकार पुष्प ढुंगानाले यही प्रकरणलाई लिएर पत्रकारिता छाड्ने घोषणा गरेका छन्। ‘मेरो पत्रकारितामा निकै नमिठो अनुभव, मन्त्रीको कमिशन अडियो पेश हुँदासम्म समाचार बनाउन सकिएन । ग्लानी यो अर्थमा कि मैले कसका लागि पत्रकारिता गर्दैछु ? खरदारले सय रूपैयाँ घूस खाएको समाचार लेखेर मन्त्रीको अनियमितता लुकाउन सकिँदैन । त्यसकारण पत्रकारिताको यात्रामा ब्रेक लगाएको छु,’ उनले ट्विट गरेका छन् ।
डा. रामेश कोइरालाले व्यंग्य गर्दै ट्विट गरेका छन्– मलाई चैँ विदेशीले नेपाली मन्त्रीहरूलाई कसरी घूस ख्वाउँदा रहेछन् भनेर तिनका एजेन्टबाट कुरो धुतेर यस्ता खरिदमा देउवा एण्ड कम्पनीले पहिला कसरी घूस खाएका थिए र कोसँग प्रमाण हुनेरहेछ भनेर गहन छानबिन गर्न यो वार्तालाप गरिएको थियो र अहिले देउवा डराएर उल्टो दोष लगाएका हुन् भन्ने लाग्छ।
टेलिभिजनकर्मी रवि लामिछानेले ट्विट गरेका छन्- बिरामी प्रधानमन्त्रीलाई भजाएर आफ्नो धन्दा चलाउने अन्य नजिकका पात्रहरुको कर्तुत पनि हेर्दै जाउँ,३ वर्ष बाँकी छ। कुरौं... नोट: प्रमाण लुकाउन सक्ने हैसियत भएका आरोपित मन्त्रीले तुरुन्त राजीनामा दिनुपर्छ र अबिलम्ब छानबिन शुरु हुनुपर्छ। राजीनामा नदिए कार्यकक्ष" बाटै पक्राउ गरिनु पर्छ।
पत्रकार विजय कुमारले प्रधानमन्त्री केपी ओली नैतिक कठघरामा परेको भन्दै ट्विट गरेका छन्। ‘आरोप सञ्चारमञ्त्री गोकुल बाँस्कोटालाई लागेको भएता पनि नैतिक कठघरामा प्रधानमन्त्री ओलीजी पर्नुभएको छ। दोष प्रमाणित होला–नहोला त्यो आफ्नै ठाउँमा छ । तर गणतन्त्र नेपालको प्रधानमन्त्री पदको गरिमा रक्षाका लागि पनि गोकुलजीले हाल पदबाट राजीनामा गर्दा उपयुक्त हुन्छ,’ उनले भनेका छन्।
सेक्युरिटी प्रेस खरिदका लागि सूचना तथा सञ्चारमन्त्री गोकुल प्रसाद बाँस्कोटाले ७० करोड घूस मागेको अडियो बुधबार बेलुका सार्वजनिक भएको हो।
करिब डेढवर्षअघिको भनिएको उक्त अडियो स्वीस कम्पनीले सेक्युरिटी प्रेस खरिद प्रक्रियामा चासो देखाएका बेलाको हो। अहिले उक्त कम्पनी प्रतिस्पर्धाबाट बाहिरिइसकेको छ। अडियोमा स्वीस कम्पनीका नेपाल प्रतिनिधि विजय प्रकाश मिश्रसँग मन्त्री बाँस्कोटाले ७० करोड घूस मागेका छन्।
मिश्र निकट स्रोतका अनुसार उक्त कुराकानी मन्त्रालयमा नै रेकर्ड गरिएको थियो । त्यसबेला मन्त्रीले अझै धेरै कमिशन माग गरेको र पछि अन्य कम्पनीले १५ प्रतिशतसम्म घूसवापत दिने प्रस्ताव गरेपछि स्वीस कम्पनीसँगको डिल अगाडि बढ्न सकेको थिएन।
आजै बिहीबार सेक्युरिटी प्रेस खरिद प्रकरणमा संसदको लेखा समितिको बैठकमा छलफल हुने कार्यक्रम छ। त्यसअघि नै यो अडियो सार्वजनिक भएको हो। सेक्युरिटी प्रेसका लागि स्वीट्जरल्याण्डको केबीए, जर्मनीको भेरिडोस र फ्रान्सको आइएन ग्रुपको प्रस्ताव परेको थियो।
तर, सरकारले ती सबै प्रक्रिया रद्ध गरेर नेपालकै यती ग्रुप एजेन्ट रहेको फ्रान्सको कम्पनीसँग प्रेस खरिदको प्रक्रिया अघि बढाएपछि संसदीय समितिले यो मामिलामा चासो दिएको हो। समितिमा केही महिनाअघि बोलाइएका प्रकाश शर्मा भनिने विजय प्रकाश मिश्रले आफूसँग सञ्चारमन्त्री गोकुल बाँस्कोटाले धेरै कमिशन मागेको र दिन नसकेको हुँदा प्रक्रियामै सहभागी नगराइएको आरोप लगाएका थिए ।
स्रोतका अनुसार यो अडियो केही महिनाअघि नै लेखा समिति र प्रधानमन्त्रीसम्म पनि पुगेको थियो।
समितिका सभापति भरत शाहका अनुसार उक्त विषयमा अनुसन्धान भइरहेको छ। सरकारले स्वदेशमै नोट, राहदानी चेकबुक र वायोमेट्रिक कागजातलगायतको एकीकृत छपाइका लागि राष्ट्रिय सुरक्षण छपाइ प्लान्ट (सेक्युरिटी प्रेस) राख्ने निर्णय गरेको तीनवर्षपछि घुस प्रकरणले फेरि यो विषयलाई विवादित बनाएको छ ।