सुर्खेत- नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहालले बाँके र बर्दिया जिल्लालाई तत्कालै कर्णाली प्रदेशमा गाभ्नेबारे छलफल नभएको बताएका छन्।
सुर्खेतमा आयोजित कर्णाली प्रदेशका अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा प्रचण्डले बाँकेवासीले कर्णालीमा गाभिन चाहेको भए पनि केन्द्रीयस्तरमा र नेकपाभित्र यसबारे छलफल नभएको उनले बताए।
तर कुनै पनि प्रदेशको भूबनोट सँगै एकै प्रकार नरहने भएकाले परिवर्तन हुन सक्ने सम्भावना भने रहेको स्पष्ट पारे।
प्रचण्डले केही दिनअघि नुवाकोटमा आयोजित एक कार्यक्रममा बाँके बर्दिया कर्णालीमा गाभिन इच्छुक रहेको बताएका थिए।
साथै उनले यसबारे पार्टीभित्र छलफल भइरहेको संकेत पनि गरेका थिए।
प्रचण्डले सुर्खेत विमानस्थल विस्तार गर्ने कार्य शुरु गरिने र कर्णालीको विकासका लागि विशेष प्याकेज आगामी नीति तथा कार्यक्रममा समावेश गर्ने प्रतिबद्धता व्यक्त गरे।
नेकपा कर्णाली प्रदेशस्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोन्धन गर्न वरिष्ठ नेता माधवकुमार नेपाल, महासचिव विष्णु पौडेल समेत सुर्खेत पुगेका छन्।
आगामी चैतदेखि देशव्यापी रुपमा सुरु हुने पार्टीको जागरण अभियानस्वरुप कर्णाली प्रदेशको राजधानी सुर्खेतमा मंगलबार र बुधबार प्रशिक्षण कार्यक्रम राखिएको हो।