हङकङ– चीनले अमेरिकाका तीन पत्रकारलाई पाँच दिनभित्र देश छाड्न आदेश दिएको छ।
वाल स्ट्रिट जर्नलका ती पत्रकारलाई चीन नछाडे प्रेस अनुमति प्रमाण रद्द गर्ने चेतावनी चिनियाँ अधिकारीले दिएका छन्।
उनीहरूमाथि उक्त पत्रिकामा प्रकाशित समाचारको शीर्षक आपत्तिजनक भाषा प्रयोग गरेको आरोप छ।
केही दिनअघि प्रकाशित उक्त लेखलाई लिएर चिनियाँ विदेश मन्त्रालयले जातीय विभेद दर्शाउने भाषा प्रयोग गरिएको भन्दै विरोध जनाएको थियो।
उनीहरूमाथि उक्त लेखको खण्डन नछापेको आरोप पनि छ।
यसरी देश छाड्न आदेश दिइएका पत्रकारहरू जोस चिन, चाव देङ र फिलिप वेन छन्। वाल स्ट्रिट जर्नलका अनुसार चिन र देङ अमेरिकी पत्रकार हुन् भने वेन अस्ट्रेलियाका हुन्।
कोरोना भाइरसबारे छपाइएको समाचारलाई लिएर विदेश मन्त्रालयले यसअघि पनि चीनले उक्त पत्रिकाको विरोध गर्दै आएको थियो।