काठमाडौं– स्वास्थ्य मन्त्रालयले चीनको वुहानबाट फर्काइएका १७५ जनामा कोरोना भाइरस (काेभिड-१९) काे कुनै संक्रमण नभएको जानकारी दिएको छ।
सबै जनाको नाक र घाँटीको र्याल परीक्षण गर्दा कोरोना भाइरसको कुनै पनि संक्रमण नदेखिएको मन्त्रालयले स्पष्ट पारेको हो। मन्त्रालयले चीनमा रहेका ६ जनाको पनि क्वारेन्टाइनमा राखेर परीक्षण भइरहेको जनाएको छ।
उनीहरूको नमुना टेकुस्थित प्रयोगशालामा तीन दिन लगाएर गरिएको थियो।
पत्रकार सम्मेलनमा मन्त्रालयका सचिव खगराज बरालले भने, ‘१७५ को नुमनामा कुनै संक्रमण देखिएन। सबैमा नकारात्मक देखाउन पाउँदा खुसी लागेको छ।’
अब उनीहरूको केही दिनपछि फेरि परीक्षण गरिने उनले बताए। क्वारेन्टाइनमा रहेका सबै स्वस्थ रहेकाले त्रसित नहुन मन्त्रालयले अपिल गरेको छ।
मन्त्रालयले त्रिभुवन विमानस्थलबाट आएका शंकास्पद व्यक्तिहरूको स्वास्थ्य परीक्षण गरिरहेको जनाएको छ।
पत्रकार सम्मेलनमा सचिव बरालले भने, ‘चिनियाँ नागरिकलाई विशेष निगरानी गरेका छौं । अहिलेसम्म कसैमा पनि संक्रमण भेटिएको छैन।’ उनले कोरोना भाइरसको निगरानी, नियन्त्रण र रोकथामका लागि मन्त्रालय सक्रिय रहेको बताए ।