काठमाडौं– प्रहरीको मोस्ट वान्टेड (सर्वाधिक खोजीको) सूचीमा रहेका तराई जनतान्त्रिक मुक्ति मोर्चाका जिल्ला इन्चार्ज कामेश्वर पटेल कुर्मी मंगलबार पक्राउ परेका छन्।
कर्तव्य ज्यानलगायत मुद्दाको अभियोगपछि फरार रहेका कुर्मीलाई जिल्ला प्रहरी कार्यालय रौटहट र बाराबाट खटिएको संयुक्त प्रहरी टोलीले मंगलबार राति चन्द्रपुर नगरपालिका–४, जगलसहियाबाट नियन्त्रणमा लिएको हो।
पक्राउअघि उनी प्रहरीको जवाफी कारवाहीमा घाइते भएका छन्। कुर्मी धन्सार–जगलसहियास्थित जंगलको बाटो भएर गाउँ छिर्न लागेको सुराकी पाएपछि प्रहरी गौंडा कुरेर बसेको थियो। त्यसप्रहरीको उनले प्रहरीको टोलीमाथि पेस्तोलबाट गोली प्रहार गरेका थिए।
उनको बायाँ खुट्टामा दुई राउन्ड गोली लागेको छ। उनलाई उपचारका लागि चन्द्रपुर प्रालि अस्पतालमा लगिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार, कुर्मीको साथबाट १ थान नलकटुवा पेस्तोल र ५ राउन्ड गोलीसमेत बरामद भएको छ।