अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आगामी सोमबार भारत भ्रमणमा आउँदैछन्। उनी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको गृहराज्य गुजरात पनि जाने कार्यतालिका छ ।
गुजरातको राजधानी अहमदावादमा ट्रम्पले विश्वकै सबैभन्दा ठूलो क्रिकेट स्टेडियमको उद्घाटन गर्ने कार्यक्रम छ । यो रंगशालाको क्षमता १ लाख १० हजार हो।
राष्ट्रपति ट्रम्प भारतमा दुई दिन रहनेछन्। राष्ट्रपति भएपछि उनी पहिलोपटक भारत आउन लागेका हुन्।
भारत भ्रमणमा आउने अधिकांश भीभीआईपीलाई मोदीले आफ्नो गृहराज्य गुजरात र त्यहाँको राजधानी अहमदावाद लैजाने गरेका छन्। यसअघि चीन, जापान र इजरायलका प्रधानमन्त्री पनि भारत भ्रमणमा आउँदा अहमदावाद गएका थिए । अहमदावाद गुजरातको सबैभन्दा ठूलो सहर हो ।
अहमदावादमा ट्रम्प तीन घण्टा रहनेछन्। समाचार संस्था रोयटर्सका अनुसार उनी त्यहाँ तीन घण्टा रहँदा ८५ करोड रुपैयाँ खर्च हुनेछ। उनको सुरक्षामा १२ हजार प्रहरी अधिकारी तैनाथ रहनेछन्। ८५ करोडमध्ये करिब आधा सुरक्षामै खर्च हुने बताइएको छ।
बीबीसी