सुर्खेत–नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपाले नेपालको राजनीतिक मानचित्र बदलेको बताएका छन् ।
नेकपाद्वारा कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आयोजित कर्णाली प्रदेशस्तरीय ‘बृहत्तर अगुवा कार्यकर्ता भेला’ कार्यक्रमको उद्घाटन गर्दै उनले विश्वमा कम्युनिष्ट शक्तिहरु कमजोर भइरहेको बेला नेपालमा बलियो भएर आएको बताए । “ दुवै पार्टीको एकताबाट एक असाधारण र ऐतिहासिक काम भएको छ,” उनले भने, “यसले नेपालको राजनीतिक मानचित्र बदलेको छ ।”
नेपालको कम्युनिष्टहरुलाई कमजोर पार्न अर्बौको लगानी भइरहेको दाबी गर्दै अध्यक्ष दाहालले भने, “समय पाए यसबारे फेहरिस्त भन्न सकिन्छ । कम्युनिष्ट एकता आजको प्रयासले मात्र नभई विभिन्न ऐतिहासिक कालखण्डदेखिको बहस, छलफल, द्वन्द्ववादी, भौतिकवादी आवश्यकताका आधारमा भएको हो ।”
पूर्वप्रधानमन्त्री प्रचण्डले विश्वमै कम्युनिष्ट शासन भएको देश नेपाल र कूटनीति पक्षलाई जोगाउँदै राष्ट्रिय हितमा एमसीसी पास हुने जनाए । कार्यदलले ल्याएको प्रतिवेदन सचिवालयको छलफलपछि मुलुकको सार्वभौमिकता, राष्ट्रिय स्वाधीनता र स्वतन्त्रतामाथि असर नपर्ने गरी पास हुने उनले जानकारी दिँदै लिपुलेक, लिम्पियाधुरा, कालापानीका बारेमा भारतीय सरकारलाई लिखित जानकारी गराइसकिएको र अब सरकारले लिपुलेक, लिम्पिलियाधुरा सम्मिलित नेपालको नयाँ नक्सा जारी गर्ने बताए ।