काठमाडौं- राजधानीबाट प्रकाशित बुधबारका राष्ट्रिय दैनिक अखबारहरुले विविध विषयका खबरलाई प्राथमिकतामा पारेका छन् ।
आजको अन्नपूर्ण पोस्ट्ले बाबुराम भट्टराई नेतृत्वको तत्कालिन सरकारले नेपाल ट्रस्टको १७३ रोपनी जग्गा व्यक्तिको नाममा नामसारी गरेकाे विषयलाई मुख्य समाचार बनाएकाे छ । उसले 'यसरी गयो ट्रस्टको १७३ रोपनी व्यक्तिका नाममा' शीर्षकमा खबर लेखेको छ ।
समाचारमा लेखिएको छ– तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराई र तत्कालीन उपप्रधानमन्त्री विजयकुमार गच्छदारले व्यक्तिका नाममा मोही दर्ता गरिदिएका काठमाडौंका १७३ रोपनी जग्गा आफ्नो नाउँमा ल्याउनुपर्ने सिफारिस नेपाल ट्रस्टको कार्यालयले गरेको छ।
भट्टराई र गच्छदारले ट्रस्टको नाममा रहेका काठमाडौंको थानकोट, मातातीर्थ, बालाजु र सतुंगलका ती जग्गा मन्त्रिपरिषद्बाट ‘नीतिगत निर्णय’ गराई करिब सयजना व्यक्तिका नाममा दर्ता गरिदिएका थिए।
ती जग्गा कसरी व्यक्तिका नाममा दर्ता भए भन्नेबारे अध्ययन गरी सिफारिस गर्न ट्रस्टले समिति गठन गरेको थियो। समितिले गत जेठ ७ गते सिफारिस–प्रतिवेदन तयार गरेको समाचारमा जनाइएको छ ।
प्रतिवेदनअनुसार भट्टराई र गच्छदारले मातातीर्थको ५९ रोपनी एक आना तीन पैसा, थानकोट महादेवस्थानको एक सय २ रोपनी तीन पैसा, सतुंगलको एक रोपनी ६ आना एक पैसा र बालाजु (इचंगु) को १० रोपनी ६ आना एक पैसा जग्गा विभिन्न व्यक्तिका नाममा दर्ता गरिदिएका थिए।
उक्त समितिले आफ्नो प्रतिवेदन ट्रस्टलाई बुझाइसकेको छ भने ट्रस्टले सरकारी, सार्वजनिक तथा गुठी जग्गासम्बन्धी छानबिन गर्न बनेको जाँचबुझ आयोगसमक्ष पेस गरेको छ। ट्रस्टको उक्त प्रतिवेदन प्राप्त भएको जानकारी दिँदै आयोगका सदस्य जानकीबल्लभ अधिकारीले व्यक्तिका नाममा दर्ता भएका ती जग्गाबारे छानबिन भइरहेको बताए।
यस्तै ह्याचरी उद्योग संघले चल्ला उत्पादनमा सिन्डिकेट लागू गरी सातामै १२ करोड २५ लाख लुटेको विषयलाई पनि अन्नपूर्णले प्राथमिकताका साथ छापेको छ।
संघले एक महिनामा चारपटक मूल्य बढाएर एक साताभित्र उक्त रकम नाफा लिएको छ । यस हिसाबले संघमा आबद्ध उद्योगले किसानबाट मासिक ४९ करोड रुपैयाँ नाफा लिएको समाचारमा उल्लेख छ ।
आजको नागरिक दैनिकले काठमाडौं महानगरमा भइराखेको मनपरीलाई मुख्य समाचार बनाएको छ । काठमाडौं महानगरको ढुकुटीमा मनपरी, जनताले तिरेको कर जनप्रतिनिधिको खल्तीमा शीर्षकमा खबर छापेको छ ।
यस्तै सेक्युरिटी प्रिन्टिङ प्रेस स्थापनाका लागि प्रस्ताव गर्ने कम्पनीको योग्यतामाथि नै प्रश्न उठेको विषयलाई पनि नागरिकले प्राथमिकताका साथ छापेको छ ।
सुरक्षण मुद्रण केन्द्रले जोसँग लागत अनुमान तयार गरायोस उसैसँग प्रस्ताव माग गरी प्रक्रिया अघि बढाउनु विधिसम्वत नदेखिएको लेखा समितिले समेत ठहर गरेको समाचारमा उल्लेख छ ।
आजको कान्तिपुर दैनिकले तानातानमा नेपाल शीर्षकमा मुख्य समाचार छापेको छ। दुई अध्यक्ष केपीशर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले आ–आफ्नो समूह बलियो बनाउन माधव नेपालसँगको भेटघाट र छलफललाई तिब्रता दिएका छन् ।
यस्तै अख्तियारले नेपाल ट्रस्टको दरबारमार्गस्थित जग्गा लिज अनियमितताको उजुरी छानविन नै नगरि टुङ्गो लगाएको खुलासा गरेको छ । झन्डै ५ अर्बको अनियमितता भएको घटनामा अख्तियारले प्रारम्भिक अनुसन्धानबाटै फाइल तामेलीमा राखेको समाचारमा उल्लेख छ ।