काठमाडौं - स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइन पुगेर चीनबाट फर्किएका नेपालीहरुको अवस्थाबारे जानकारी लिएका छन्।
क्वारेन्टाइन बाहिर संयुक्त सुरक्षाको कमाण्डमा रहेको कन्ट्रोल कक्षबाट माइकमार्फत भित्र रहेका नेपालीहरुसँग उनले सिसी क्यामराको माध्यमबाट भिडियो हेर्दै कुराकानी गरे।
सो अवसरमा मन्त्री ढकालले क्वारेन्टाइनमा रहेका नेपालीसँग कुराकानी गर्दै सरकार तपाईसँगै रहेको र सबै सहयोग गर्न तयार रहेकाले नआत्तिन आग्रह गर्दै आवश्यक सहयोग गर्न सरकार प्रतिबद्ध रहेको बताए। कन्ट्रोल कक्षबाट उनले भित्र रहेका नेपालीसँग यहाँको सेवा, सुविधा र समस्याकाबारेमा जानकारी लिएका थिए। जवाफमा भित्र रहेका नेपालीले सरकारले पुर्याएको सहयोगको बारेमा धन्यवाद व्यक्त गर्दै आफूहरु पूर्णरुपमा स्वस्थ्य रहेको र सरकारले गरेको व्यवस्थाप्रति निकै खुसी रहेको प्रतिक्रिया दिएका थिए।