काठमाडौं– सोमबार डिल्लीबजार कारागारबाट रिहा भएका पूर्वसभामुख एवं सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद कृष्णबहादुर महराले जिल्ला अदालत काठमाडौंबाट सफाइ पाएको पत्र आज संघीय संसद सचिवालयमा बुझाउँदैछन्।
महराका तर्फबाट एक कानुन व्यवसायीले संसद सचिवालयलाई आजै पत्र बुझाउने बताएका छन्। कारागारलाई बुझाइएको अदालतको पत्र सचिवालयलाई बुझाउने कि अन्य पत्र जिल्ला अदालतबाट माग्नु पर्ने भन्ने विषयमा दुविधा रहेको उनले जनाए।
अहिले संसद सचिवालयका पदाधिकारीसँग छलफल गरी पत्र बुझाइने महराको एक वकिलले बताए।
यता प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले अदालतको पत्र नआउनजेलसम्म संसद प्रवेश गर्न नहुने बताएका छन्।
उनले अदालतबाट पत्र आएको खण्डमा महरा बस्न पाउने बताए। यता महराको सचिवालयका अनुसार आज पत्र बुझाउने प्रक्रिया पूरा भए पनि महरा अर्को बैठकबाट प्रतिनिधिसभामा जाने छन्।