काठमाडौं– सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा केही हप्तादेखि कोरोना भाइरस (कोभिड–१९) सँग मिल्दोजुल्दो लक्षण देखिएको भनिएका बिरामीमा कोरोनाको संक्रमण नभएको पुष्टि भएको छ । गत माघ २३ गतेदेखि जुगल गाउँपालिकाको गुम्बा गाउँमा मौसमी रुघाखोकी तथा ज्वरोका कारण मानिसहरु बिरामी पर्न थालेका थिए ।
दुई सयभन्दा बढी मानिस बिरामी भएपछि गाउँपालिकाले कोरोना परीक्षणका लागि स्वास्थ्य मन्त्रालयलाई पत्राचार गरेको थियो । लगत्तै स्वास्थ्यकर्मीको टोली गुम्बा गाउँमा पुगेको थियो ।
स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता सागर दाहालले भने, ‘गाउँपालिकाले पत्राचार गरेपछि पुगेको स्वास्थ्य मन्त्रालयको टोलीले ९ जनाको नमुना परीक्षण गरेको थियो । रिपोर्ट प्राप्त भएको छ, परीक्षण गरिएका सबैमा कोरोना संक्रमण नभएको पुष्टि भएको छ ।’