काठमाडौं– शिक्षक सेवा आयोगले पाठ्यक्रम परिमार्जन गरेको छ। नयाँ पाठ्यक्रमअनुसार प्रत्येक तहमा वस्तुगत प्रश्न (सामान्य परीक्षा) १०० पूर्णाङ्क र विषयगत १०० पूर्णाङ्क तोकिएको छ।
आयोगले पहिलोपल्ट २०० पूर्णाङ्कको परीक्षा लिन लागेको हो। यसअघि ४० पूर्णाङ्कको वस्तुगत र ६० पूर्णाङ्कको विषयगत परीक्षा लिइन्थ्यो।
विषयगत पाठ्क्रममा आफूले चाहेको विषयमा १०० पूर्णाङ्कका लागि परीक्षा दिनुपर्नेछ। यसमा लामाे र विश्लेषणात्मक उत्तर आउने प्रश्न साेधिनेछ।
सामान्यततर्फ सामान्य ज्ञान राखिएको छ। सामान्य परीक्षा उत्तीर्ण गरेपछि मात्र विषयगत परीक्षा दिनुपर्ने व्यवस्था आयोगले गरेको छ। योसँगै अब शिक्षक बन्न अन्तर्वार्तासमेत गरी चारवटा परीक्षा उत्तीर्ण हुनुपर्नेछ।
पहिलो चरणमा अध्यापन अनुमतिपत्र (लाइसेन्स) उत्तीर्ण गर्नुपर्नेछ। यो परीक्षा एक पटक उत्तीर्ण गरेपछि सधैंका लागि हुन्छ।
दोस्रो सामान्य परीक्षा हो। यो १०० पूर्णाङ्कको हुनेछ। सामान्य परीक्षा उत्तीर्ण भएपछि मात्र विषयगत परीक्षामा सहभागी हुन पाइने व्यवस्था गरिएको आयोगका सूचना अधिकारी दामोदर आचार्यले बताए।
यो परीक्षामा ५० अंक ल्याएमा उत्तीर्ण हुने भए पनि लाइसेन्समा जस्तो एकपटक पास गरेर सुख पाइँदैन। आयोगले विज्ञापन खोलेपिच्छै विषयत परीक्षा उत्तीर्ण हुनुपर्नेछ।
सामान्य परीक्षा विज्ञापन भएका सबै विषयका लागि साझा हुने व्यवस्था गरिएको छ। तहअनुसार भने फरकफरक हुनेछ।
यसपछि विषयगत परीक्षाको विज्ञापन खुल्ने व्यवस्था छ।
विषयगत परीक्षा उत्तीर्ण भएपछि अन्तर्वार्ताको पालो आउँछ।
यसअघि शिक्षासम्बन्धी सामान्य जानकारी, नेपालको शैक्षिक इतिहास, सार्कलगायत अन्य केही मुलुकका शिक्षासम्बन्धी जानकारी, नेपालको संविधान र शिक्षासम्बन्धी ऐननियम तथा सिकाइसम्बन्धी सामान्य जानकारी मात्र अध्ययन गरे हुन्थ्यो। परिमार्जित पाठ्यक्रमअनुसार सामान्य परीक्षाको पाठ्यक्रमको दायरा निकै फराकिलो बनाइएको छ।
माध्यमिक तहमा वस्तुगततर्फ ब्रह्माण्डको जानकारी, विश्वको भूगोल, नेपालको भूगोल, नेपालको इतिहास, संस्कृति र सामाजिक व्यवस्थाबारेमा अध्ययन गर्नुपर्नेछ।
यस्तै नेपालको आर्थिक विकास, वातावरण, विज्ञान र प्रविधि, अन्तर्राष्ट्रिय सम्बन्ध तथा संघसंस्थाको पनि सामान्य ज्ञान हासिल गर्नुपर्नेछ।
आयोग परीक्षामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महत्त्वका राजनीतिक, सामाजिक, आर्थिक, वैज्ञानिक, सांस्कृतिक लगायत समसामयिक घटनाबाट पनि प्रश्न सोधिनेछ। यसका लागि ४० पूर्णाङ्क तोकिएको छ।
यस्तै शिक्षा सम्बन्धी आधारभूत ज्ञानतर्फ शिक्षाको परिचय र नेपालको शैक्षिक विकास, शिक्षा मनोविज्ञान, सिकाइ प्रक्रिया र सिकाइका सिद्धान्तबाट प्रश्न सोधिनेछ।
परीक्षार्थीले पाठ्यक्रम तथा पाठ्यपुस्तक, शिक्षण सिकाइ योजना, विधि र शिक्षण सामग्री, मूल्यांकन र परीक्षा, शैक्षणिक व्यवस्थापन र शैक्षणिक संगठन, शिक्षक पेसागत विकास र शैक्षिक अनुसन्धानबारे पनि ज्ञान हासिल गर्नुपर्नेछ। यसका लागि २४ पूर्णाङ्क तोकिएको छ।
अबदेखि शिक्षक परीक्षामा सामान्य बौद्धिक परीक्षण पनि गरिने भएको छ। त्यसअन्तर्गत शाब्दिक बौद्धिक परीक्षण, गणितीय क्षमता, स्थानिक तार्किक सीप, दृश्यात्मक/धारणात्मक सीप राखिएको छ। यसका लागि १६ पूर्णाङ्क तोकिएको छ।
यस्तै सूचना तथा सञ्चार प्रविधितर्फ १० पूर्णाङ्क र संविधान, शिक्षासम्बन्धी ऐननियमका लागि १० पूर्णाङ्क कायम गरिएको छ।
यस्ताे छ माध्यमिक तहकाे नयाँ पाठ्यक्रम