काठमाडौं– दुई वर्षअघि काठमाडौं ‘हर्न निषेधित क्षेत्र’ घोषणा गरिँदा ललितपुर, सुनाकोठीका आशिष पौडेललाई सवारीसाधनको ट्वाँट्वाँ–टुँटुँबाट उन्मुक्ति पाइयो भन्ने लागेको थियो। तर, उनको ठम्याइ सही साबित भएन।
सवारीचालकले जथाभावी हर्न बजाउन नछाडेपछि अचेल उनी हैरान छन्। ‘दिनहुँजसो काठमाडौं आइरहनुपर्छ। बाटोमा सवारीचालकले हर्न बजाएर हैरान गर्छन्,’ उनी दु:खेसो पोख्छन्, ‘जाममा परेका बेला त हर्नको आवाजले बसिसक्नु हुँदैन।’
काठमाडौं अनामनगरमा बस्ने लक्ष्मण ओझाको पनि उस्तै गुनासो छ। उनी पनि काठमाडौंमा सवारीसाधनको ट्वाँट्वाँ–टुँटुँ सुनिनसक्नु हुने बताउँछन्।
‘काठमाडौंमा ‘हर्न निषेधित क्षेत्र’ घोषणा त भयो। तर, व्यवहारमा कार्यान्वयन हुन सकेन,’ उनी भन्छन्।
यी त प्रतिनिधि उदाहरण मात्रै हुन्। काठमाडौं ‘हर्न निषेधित क्षेत्र’ घोषणा पूर्ण रूपले कार्यान्वयन नहुँदा यात्रु तथा चालकले सास्ती खेपिरहेका छन्।
महानगरीय ट्राफिक प्रहरी महाशाखाको हर्न कारवाहीसम्बन्धी तथ्यांकले पनि राजधानीका सडकमा सवारीसाधनको ट्वाँट्वाँ–टुँटुँ बज्न नछाडेको देखाउँछ।
महाशाखाको तथ्यांकअनुसार पछिल्लो एक सातामा उपत्यकामा जथाभावी हर्न बजाउने तीन सय ८२ सवारी चालकलाई कारवाही गरिएको छ।
महाशाखाले गत सोमबार (माघ २७) मा जथाभावी हर्न बजाउने ५१ सवारी चालकलाई कारवाही गरेको थियो। महाशाखाका अनुसार मंगलबार ५४, बुधबार ५४, बिहीबार ६०, शुक्रबार ६३, शनिबार ३८ र आइतबार ६२ जनालाई कारवाही गरिएको छ।
महाशाखाका प्रवक्ता एवं एसपी जीवनकुमार श्रेष्ठ राजधानीमा नयाँ चालकका कारण हर्न निषेधित घोषणा कार्यान्वयनमा चुनौती थपिएको बताउँछन्। ‘प्रत्येक पटक नयाँ ड्राइभर कारवाहीमा पर्छन्,’ उनले सुनाए।
महाशाखाले जथाभावी हर्न बजाउनेलाई पहिलो पटक पाँच सय रूपैयाँ जरिवाना गर्ने गरेको छ।
जरिवाना गराएर मात्रै हर्न निषेध घोषणा पूर्णरूपले कार्यान्वयन हुन नसक्ने जानकार बताउँछन्। यसका लागि जनचेतनालाई प्राथमिकता दिनुपर्ने उनीहरूको भनाइ छ।
महाशाखाका प्रवक्ता श्रेष्ठ हर्न निषेधित घोषणा कार्यान्वयनका लागि जनचेतना र कारवाही सँगसँगै अघि बढाइरहेको बताउँछन्। ‘यसका लागि बेलाबेला विद्यालय स्तरमा चेतनामूलक कार्यक्रम चलाइरहेका छौं। त्यति मात्रै होइन, सञ्चारमाध्यमबाट पनि जनचेतना फैलाइरहेका छौं,’ उनले भने।
यात्रु भने सवारीको चाप भएका ठाउँमा हर्न निषेधमा कडाइ गरिनुपर्ने बताउँछन्। ‘ट्राफिक जाम भएका ठाउँमा हर्न निषेधमा कडाइ गरे मात्रै घोषणा कार्यान्वयन प्रभावकारी हुन्थ्यो,’ पौडेल भन्छन्।
‘हर्न निषेधित घोषणा’पछि अनावश्यक हर्न बज्न ९० प्रतिशत कम भएको महाशाखाले जनाएको छ।
सरकारले २०७४ वैशाख १ गते काठमाडौंलाई ‘हर्न निषेधित क्षेत्र’ घोषणा गरेको थियो।
ध्वनि प्रदूषणको असर
सवारीसाधनबाट उत्पन्न हुने ध्वनिले मानिसको स्वास्थ्यमा असर पुर्याउने चिकित्सक बताउँछन्। उनीहरूका अनुसार ध्वनि प्रदूषणले मानिसमा कान तथा टाउको दुख्ने, निद्रा नलाग्ने, मानसिक तनाव उत्पन्न हुनेलगायत समस्या देखिन सक्छ।
नेपाल मेडिकल कलेज तथा ओम अस्पतालमा कार्यरत नाक, कान घाँटी रोग विशेषज्ञ डा. अमित मिश्राले सवारी साधन ओहोरदोहोर हुने क्षेत्रमा बस्ने मानिसमा कानको समस्या देखिने गरेको छ।
‘ध्वनि प्रदूषणले कानको नर्भलाई असर पुर्याई कान कमजोर हुन्छ र सुन्ने क्षमतामा ह्रास आउँछ,’ उनले भने।
उनले मानिसका लागि सामान्यतया २५ डेसिबलको ध्वनि उपयुक्त मानिने बताए। उनका अनुसार सवारीसाधनको हर्नबाट २५ डेसिबलभन्दा माथिको ध्वनि उत्पन्न हुन्छ, जसले मानिसको स्वास्थ्यमा प्रतिकूल प्रभाव पार्ने गरेको छ।