काठमाडौं– चीनले कोभिड–१९ (कोरोना भाइरस) संक्रमण दर कम हुँदै गएको जनाएको छ। यो भाइरस संक्रमणका कारण चीनसहित पाँच मुलुकमा गरी हालसम्म १ हजार ६६९ जनाको ज्यान गएको छ ।
आइतबार जारी एक प्रतिवेदनअनुसार चीनमा संक्रमितको संख्या २ हजार नौ पुगेको छ। शनिबारमात्र १४२ संक्रमितको मृत्यु भएको त्यहाँको राष्ट्रिय स्वास्थ्य आयोगले जनाएको छ। यसअघि संक्रमितको दर बढ्दै गएको थियो।
चीनमा ६८ हजारभन्दा बढी मानिसलाई यो भाइरस संक्रमण भएको छ।
चीनबाहिर ३० वटा मुलुकमा ५ सयभन्दा बढी मानिसमा कोभिड–१९ संक्रमण भएको तथ्यांक छ भने फ्रान्स, हङकङ, फिलिपिन्स र जापानमा एकएक जनाको मृत्यु भएको छ।
भाइरस नियन्त्रण लागि गरिएका प्रयासले सकारात्मक परिणाम देखाउन थालेको राष्ट्रिय स्वास्थ्य आयोगका प्रवक्ता मी फेङले बताए। विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रस् एढानन् गेब्रेयनसले चीनले भाइरस संक्रमण नियन्त्रणमा चालेको कदमको प्रशंसा गरेका छन्।
कसरी लडिरहेको छ चीन ?
कोभिड–१९ को संक्रमणबाट बच्न चीन सरकारले करोडौं नागरिकको दैनिकीमा निगरानी बढाएको छ। भाइरस उद्गमस्थल वुहान सहरलाई मुलुकका अन्य स्थानसँग सम्पर्क विच्छेद गरिएको छ।
विदेशमन्त्री वाङ यीले भनेका छन्, “हुबेईमा संक्रमितको संख्या घट्ने क्रम बढेसँगै यसका उपचार गराइरहेका बिरामी निको हुने क्रम बढेको छ ।”