काठमाडौं- बलात्कारको आरोप लागेका पूर्वसभामुख कृष्णबहादुर महराविरुद्धको मुद्दाको फैसला आज (सोमबार) सुनाइने भएको छ।
आइतबार नै फैसला सुनाउने तयारी भएपनि समय अपुग भएपछि आज फैसला सुनाउन लागिएको हो । आइतबार दिनभर बहस चलेको थियो ।
काठमाडौं जिल्ला अदालतका श्रेस्तेदार आनन्द श्रेष्ठले आइतबार साँझमात्र बहस सकिएकाले मुद्दाको फैसला आज सुनाउन लागिएको नेपाल समयलाई जानकारी दिए ।
‘बहस अबेर सकिएकाले मिसिल अध्ययन गर्न समय नपुगेर फैसला गर्न नभ्याइएको हो,’ श्रेस्तेदार श्रेष्ठले भने, ‘समय अभावले गर्दा मुद्दा हेर्दाहेर्दामै राखिएको छ।’
महराको पक्षबाट आइतबार वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठ, लव मैनाली, शेरबहादुर केसी, भिमार्जुन आचार्य, सविता भण्डारी बराल तथा अधिवक्ताहरु दिनमणि पोखरेल, सुशील सापकोटा र मुरारी सापकोटाले बहस गरेका थिए।
उक्त मुद्दा जिल्ला अदालतका न्यायाधीश अमरराज पौडेलको इजालसमा छ। यसअघि गत आइतबार पेशीमा चढेको मुद्दा ५ जना सरकारी वकिलहरुले बहस गरेपछि हेर्दाहेर्दैमा राखिएको थियो।
गत असोज पहिलो साता संसद सचिवालयमै कार्यरत एक महिला कर्मचारीले जबर्जस्ती करणीको आरोप लगाएपछि उनले असोज १४ गते राजीनामा दिएका थिए। हाल उनी पुर्पक्षका लागि डिल्लीबजार कारागारमा छन्।
उनीविरुद्ध जबरजस्ती करणी प्रयासमा पाँच वर्ष र सार्वजनिक पद धारण गरेर कसूरको प्रयास गरेको भन्दै थप साढे २ वर्ष गरी साढे ७ वर्ष कैद सजाय माग गरिएको छ।
तत्कालीन जिल्ला न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासले महरालाई कात्तिक १८ गते पुर्पक्ष थुनामा पठाएको थियो।