काठमाडौं– नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी जागिर खाने कर्मचारीसहित ४ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ।
नक्कली शैक्षिक प्रमाण पत्र पेश गरी जागिर खाने ३ जना कर्मचारी र घुस माग्ने एक जना प्रहरी सहायक निरीक्षकविरुद्ध अख्तियारले आइतबार मुद्दा दायर गरेको हो।
अख्तियारका प्रवक्ता प्रदीप कोइरालाका अनुसार मुद्दा दायर भएकामा नेपाल नागरिक उड्डयन प्राधिकरणका अधिकृत शालिकराम खनाल, साझा प्रकाशनमा कार्यरत खरिदार कुवेर प्रसाद उपाध्याय र चम्पादेवी प्राथमिक विद्यालय ओखलढुंगाका सेवानिवृत्त शिक्षक खेटराज बराल छन्। उनीहरुविरुद्ध नक्कली शैक्षिक प्रमाण पत्रको मुद्दा लागेको छ।
यस्तै जवर्जस्ती करणी मुद्दा मिलाइदिने भनेर सेवाग्राहीसँग ६० लाख रुपैयाँ घुस मागेको आरोपमा महानगरीय अपराध महाशाखाका तत्कालीन प्रहरी सहायक निरीक्षक उमेश के.सी. विरुद्ध मुद्दा दायर भएको छ।
खनालले बिहार संस्कृत शिक्षा बोर्ड पटना भारतबाट पास गरेको झुठ्ठा शैक्षिक प्रमाणपत्र पेश गरी नागरिक उड्डयन कार्यालयमा जागिर खाएको खुलेको अख्तियारले जनाएको छ।
खनाल २०५३ जेठ १ गते तत्कालीन त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयमा तृतीय श्रेणीमा नियुक्ति भई हालसम्म कार्यरत रहेको अख्तियारले जनाएको छ।
साझा प्रकाशनका खरिदार उपाध्यायले सेवा र पदोन्नतिका लागि बिहार संस्कृत शिक्षा बोर्ड पटना भरतबाट मध्यमा तहको परीक्षा पास गरेको नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरेको अख्तियारले जनाएको छ।
खनाल साझा प्रकाशन शाखा कार्यालय वीरगंजमा सहायक चतुर्थ पदमा नियुक्ति लिई हाल सम्म कार्यरत रहेको अख्तियारले जनाएको छ।
यस्तै गत साल फागुन २९ गते स्वतः अवकाश लिएका बरालले सेवा प्रवेश गर्दा मिथिला संस्कृत विश्वविद्यालय, कोरीयाही पटना भारतबाट मध्यमा तहको परीक्षा पास गरेको नक्कली प्रमाणपत्र पेश गरेको अख्तियारले जनाएको छ।
यस्तै महानगरीय अपराध महाशाखा टेकु अन्तर्गत कारागार कार्यालय, सुन्धारामा कार्यरतमा प्रहरी सहायक निरीक्षक के.सी.ले महानगरीय प्रहरी परिसर ललितपुरमा दर्ता भएको सामुहिक जबरजस्ती करणी मुद्दामा प्रतिवादीहरुसँग ६० लाख घुस मागेको अख्तियारले जनाएको छ।
पुर्पक्षको लागि कारागारमा रहेको अवस्थामा बकपत्रको समयमा पीडितसमेतको बयान मिलाई दिने भन्दै के.सी.ले घुस रकम लिन राजी भै लिनसमेत आई घुस लिने उद्योग गरेको स–प्रमाण पुष्टि भएको अख्तियारले जनाएको छ। अख्तियारले के.सीविरुद्ध ६० लाख रुपैयाँ बिगो माग दाबी गरेको छ।