काठमाडौं– भूतपूर्व ब्रिटिस गोर्खा सत्याग्रह संयुक्त सङ्घर्ष समिति गोर्खा सैनिकले उठाउँदै आएको निवृत्तिभरण र क्षतिपूर्तिलगायतका मुद्दा सम्बोधन गर्न यथाशीघ्र वार्ताटोली गठन गर्न माग गरेको छ।
सङ्घर्ष समितिद्वारा आइतबार यहाँ आयोजित पत्रकार सम्मेलनमा समितिका संयोजक कृष्णबहादुर राईले भूतपूर्व ब्रिटिस गोर्खाले उठाएका मुद्दा सकारात्मक निष्कर्षमा पुर्याउन वार्ताटोली गठनका लागि पहल गर्न आग्रह गरे।
नेपाली युवाले २०५ वर्षदेखि अनुशासित र व्यावसायिक रुपमा बेलायतको हितका लागि काम गर्दै आएको स्मरण गराउँदै उनले भने, ‘समान काममा रहेका गोर्खा सैनिकलाई तलब, भत्ता र क्षतिपूर्तिमा विभेद गरिएको छ । हामीप्रति भएको अमानवीय व्यवहारविरुद्ध समानताको मुद्दा लिएर ३० वर्षदेखि सङ्घर्षरत छौँ।’
नेपाल सरकारले भूतपूर्व ब्रिटिस गोर्खाका मुद्दालाई सकारात्मक रुपमा ग्रहण गर्दै पछिल्लो समय समस्या समाधानका लागि भएको प्रयासको समितिले प्रशंसा गरेको छ। नेपाल र बेलायतबीच सन् १८१६ मा भएको सम्झौताअनुसार नेपाली युवा ब्रिटिस गोर्खा सैनिकमा भर्ती हुँदै आएका छन्।
नेपालका खास गरी राई, लिम्बू, गुरुङ, मगर, तामाङ समुदायका युवाको जागिरको पहिलो रोजाई ब्रिटिस गोर्खा रहँदै आएको छ। भूतपूर्व ब्रिटिस गोर्खा सैनिकको सङ्ख्या हाल १५ हजार हाराहारीमा रहेको बताइएको छ। बेलायती सेनामा झन्डै तीन हजार ५०० को सङ्ख्यामा नेपाली युवा कार्यरत छन्।
यकिन तथ्याङ्क नभए पनि पहिलो र दोस्रो विश्व युद्धमा बेलायतको पक्षमा रही झण्डै डेढ लाखभन्दा बढी नेपाली युवाले बलिदानी दिएको अनुमान छ।
संयुक्त सङ्घर्ष समितिले बेलायती नागरिकसरहकै स्वास्थ्य सुविधा, विधवालाई भत्ता, विभिन्न युद्धमा ज्यान गुमाएकालाई क्षतिपूर्ति तथा छोराछोरीलाई आवासीय भिसासम्बन्धी माग राखेर बेलायत सरकारलाई ज्ञापनपत्रमार्फत ध्यानाकर्षण गराउँदै आएको छ।
समितिले उठाउँदै आएका माग सम्बोधन भएमा स्वाभिमान, राष्ट्रियता, मानव अधिकार र सम्मानको अनुभूति हुने महासचिव एसबी घिसिङले जानकारी दिए। -रासस