काठमाडौं– साताको पहिलो दिन आइतबार सेयर बजार परिसूचक (नेप्से) १९.३९ अंकले बढेर १३६३.९७ अंकमा अडिएको छ। धेरै समयपछि बजारले १३५० अंक पार गरेको हो।
अर्थमन्त्री डा. युवराज खतिवडाले पछिल्लो समयमा सेयर बजार सम्बन्धी सकारात्मक कुराहरु बोलिरहेका छन् भने नेपाल धितोपत्र बोर्डले पनि सेयरबजार सम्बन्धी विज्ञ नै अध्यक्षको रुपमा पाएको छ।
अर्कोतर्फ नागरिक लगानी कोषले स्टक डिलरको रुपमा अनुमति पाइसकेकोले बजार विस्तारै सकारात्मक हुँदै गएको हो ।
त्यस्तै गरी ब्रोकरहरुले पनि सेयर धितो कर्जा दिन पाउने र बैंकहरुले पनि ब्रोकर लाइसेन्स लिन पाउने भएपछि बजारमा चमक देखिन थालेको हो ।
गत फागुन १२ गतेदेखि नेपाल धितोपत्र बोर्डले बैंकहरुले पनि सेयर दलालको काम गर्न पाउनेगरी स्वीकृति दिएको थियो। लगानीकर्ताहरुले ब्रोकरबाट पनि कर्जा लिन पाउने भएपछि सेयर धितो कर्जाको व्याजदर कम हुन थालेको छ जसका कारण धेरै लगानीकर्ताहरु सेयर धितो राखी कर्जा लिएर सोही स्थानमा लगानी गरिरहेका छन् ।
आइतबार १७६ कम्पनीको ४१ लाख ५ हजार १३४ कित्ता सेयर बराबरको १ अर्ब ९७ करोड ८१ लाख रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।
यसदिन फाइनान्स, म्युचुअल फन्ड र अन्य समूहको समूहगत उपसूचक घटेको छ भने अन्य समूहमा भने लगानीकर्ता झुम्मिएका छन् । जस अनुसार निर्जीवन बिमा समूहको सूचक ४१६.७९, जीवन बिमा ३९८.६९, वाणिज्य बैंक ५.१५ अंकले सुधार भएको छ ।
यस्तैगरी सबैभन्दा बढी कारोबार हुने कम्पनीमा हिमालयन डिष्टिलरी रहेको छ । यस कम्पनीको १८ करोड रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ। त्यस्तै शिवम् सिमेन्ट र नेपाल लाइफ इन्स्योरेन्सको क्रमशः १३ करोड र ९ करोडको सेयर कारोबार भएको छ ।
यसदिन सबैभन्दा धेरै राधि विद्युत कम्पनी, एनएलजी र ङादी ग्रुप पावर कम्पनीका लगानीकर्ताहरुले कमाएका छन्।
त्यस्तै यसदिन गुमाउनेमा नविल व्यालेन्स फन्ड, सेन्ट्रल फाइनान्स र जानकी फाइनान्सका लगानीकर्ता रहेका छन् । उनीहरुले यसदिन ५ प्रतिशतभन्दा बढीले आफ्नो सम्पत्ति गुमाएका छन्।