पर्थ– अस्ट्रेलियन फुटबल लिग (एएफएल)का चर्चित खेलाडी एलेक्स र्यान्सले नेपालको उच्च हिमाली क्षेत्रमा पदयात्रा गर्ने भएका छन्। अन्नपूर्ण पदयात्रामा जाने उनको निर्णयले उनका प्रशंसकलाई दोस्रो पटक आश्चर्यमा पारेको छ।
उनी आफ्नो ‘फुटी’ जुत्ता र श्रीमती छोडेर नेपाल आउन लागेका हुुन्। जर्जिया र्यान्ससँग सन् २०१२ मा विवाह गरेका थिए उनले ८ वर्ष लामो सम्बन्धलाई त्यागेर नेपालको पदयात्रामा आउन लागेको अष्ट्रेलियन मिडियाले उल्लेख गरेका छन्।
गत नोभेम्बरमा घुँडाको चोटका कारण रेस्टमा रहेका उनी डिसेम्बर पहिलो सातामात्र आफ्नो क्लब रिचमण्डमा फर्किएका थिए। केही समय तालिम गरिसकेपछि उनी खेलमा फिट रहको र पूरा सिजनका लागि खेल्न सक्ने जानकारी क्लबले गराएको थियो।
तर, उनले डिसम्बर १९ मै संन्यास घोषणा गरिदिए। खेलबाट संन्यास लिएर प्रशंसकलाई आश्चर्यमा पारेका एलेक्सले नेपालमा पदयात्रा गर्ने सूचना दिएर थप आश्चर्यमा पारेका छन्।
एलेक्स र्यान्सले आफ्ने इन्स्टाग्राममा लेखेका छन्, ‘मैले नोभेम्बरमा नेपाल जाने प्लान बनाएको छु। यदि तपाईं पनि यो साहसिक योजनामा सहभागी हुन चाहनुहुन्छ र आफैंलाई चुनौती दिन चाहानुहुन्छ भने मसँग नेपाल जान सक्नुहुने छ। तपाईंहरुले मलाई साथ दिनुभयो भने म खुसी हुनेछु।’
उनको यो ट्रिप ‘हेल्थ एन्ड फिटनेस होलिडे एन्ड कोकोडा करेज’ले आयोजना गरेको हो। अन्नपूर्ण घुम्न आउने सेलिब्रेटी उनीमात्र होइनन्। अष्ट्रेलियन फुटबलर ड्यानी बिम्स पनि अन्नपूर्ण ट्रिपका लागि अक्टोबरमा नेपाल आउँदैछन्।
उनी पनि डिसेम्बरमा खेलबाट संन्यास लिएर श्रीमतीसँग छुट्टिएका थिए।