काठमाडौं– चीनको वुहानबाट आइतबार उद्धार गरिएका नेपालीहरुसँग चीनमै एक सम्झौतापत्रमा हस्ताक्षर गराइएको छ। चीनस्थित नेपाली दूतावासमा उनीहरुसँग प्रतिबद्धतापत्रमा हस्ताक्षर गराइएको हो।
पत्रमा उनीहरु नेपाल सरकारले व्यवस्था गर्ने क्वारेन्टाइनमा बस्न मञ्जुर रहेको उल्लेख छ। क्वारेन्टाइनबाट भागेको खण्डमा कानुनबमोजिम कारबाही भोग्न तयार रहेको प्रतिबद्धता पत्रमा उल्लेख छ।
नेपाल फर्किएका सबैसँग भएको सम्झौतामा औंठाछापदेखि सम्पूर्ण विवरण खुलाइएको छ।
सम्झौतापत्रमा भनिएको छ, ‘म खरिपाटी भक्तपुरस्थित नेपाल सरकारद्वारा व्यवस्था भएको क्वारेनटाइनमा स्वेच्छाले सहभागी भएको हुँ। म राजीखुसी यस क्वारेन्टाइनमा नेपाल सरकार, सम्बन्धित व्यक्ति तथा स्वास्थ्यकर्मीद्वारा प्राप्त निर्देशन, आचारसंहिता र गर्न हुने–गर्न नहुने निर्देशन पूर्णरुपले पालना गर्दै तोकिएको अवधिभर क्वारेन्टाइनमा बस्न मञ्जुर छु।’
सम्झौतापत्रमा कारवाहीको व्यवस्थाबारे भनिएको छ, ‘क्वारेन्टाइनको दौरानमा यदि मैले कुनै पनि किसिमको अटेर गरेमा, आफ्नो, अरुको तथा सरकारी सामानको क्षति पुर्याएमा वा विना अनुमति भागेमा वा भाग्न खोजेमा प्रचलित ऐन नियम कानुनबमोजिम सजाय भोग्न तयार रहेको प्रतिबद्धता व्यक्त गर्दछु।’