काठमाडौं– संसद सचिवालयमा कार्यरत कर्मचारी रोशनी शाहीमाथि जबर्जस्ती करणी प्रयासको अभियोग लागेका पूर्वसभामुख कृष्णबहादुर महराको मुद्दाको आज अन्तिम सुनुवाइ भइरहेको छ। महराविरुद्धको मुद्दामा उनको पक्षका वकिलले बहस गरिरहेका छन्।
गत आइतबार काठमाडौं जिल्ला अदालतमा पहिलो पकट पेशीमा चढेको उक्त मुद्दामा सरकारी वकिलका तर्फबाट ५ जनाले बहस गर्दैछन् । ‘अन्य कुनै आदेश गर्नु नपर्ने भए सम्भवतः आजै फैसला हुन्छ,’ अदालतका श्रेष्तेदार आनन्द श्रेष्ठले भने, ‘मुद्दाको अंग पुगिसकेकाले अर्को आदेश गर्नु पर्दैन होला।’
उक्त मुद्दा जिल्ला अदालतका मुख्य न्यायाधीश अम्बरराज पौडेलको इजलासमा छ। यसअघिको सुनुवाइमा सरकारी वकिलका तर्फबाट जिल्ला न्यायाधीवक्ताहरु उमाकान्त पौडेल र शान्ति न्यौपाने, सह न्यायाधीवक्ताहरु हरि रेग्मी र चन्द्रकान्त खनाल तथा सहायक न्यायाधीवक्ता विनिता कपालीले बहस गरेका थिए।
आज महराका तर्फबाट बहस सकिएपछि उनीविरुद्ध लागेको अभियोग पुष्टि हुने वा नहुने निर्णय अदालतले सुनाउने छ।
उनीविरुद्ध जबरजस्ती करणी प्रयासमा पाँच वर्ष र सार्वजनिक पद धारण गरेर कसूरको प्रयास गरेको भन्दै थप साढे २ वर्ष गरी साढे ७ वर्ष कैद सजाय माग गरिएको छ।
तत्कालीन जिल्ला न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासले महरालाई कात्तिक १८ गते पुर्पक्ष थुनामा पठाएको थियो । महराले गत असोज १२ गते शाहीको तीनकुनेस्थित कोठामा पुगेर जबरजस्ती करणी प्रयास गरेको आरोप लागेको छ।
उक्त आरोपपछि महराले असोज १४ गते सभामुख पदबाट राजीनामा दिएका थिए भने १९ गते सभामुखको सरकारी निवासबाटै पक्राउ परेका थिए। महरा हाल काठमाडौंको डिल्लीबजार कारागारमा थुनामा छन्।