काठमाडौं– कोरोना (कोभिड–१९) भाइरस संक्रमणबाट युरोपमा एक जनाको मृत्यु भएको छ।
चीनमा डिसेम्बरदेखि फैलिएको यो महामारीका कारण एसिया बाहिर मृत्यु भएको पहिलोपल्ट हो। ती चिनियाँ पर्यटक रहेको फ्रान्सका स्वास्थ्यमन्त्री एजनेस बुज्यनले जनाएकी छन्।
मन्त्री बुज्यनका अनुसार ती व्यक्ति ८० वर्षका थिए। उनी चीनको हुपई प्रान्तबाट जनवरी १६ मा फ्रान्स फर्किएका थिए।
मन्त्री बुज्यनले भनिन्, ‘उनलाई जनवरी २५ मा अस्पतालको क्वारेन्टाइनमा राखिएको थियो।'
यसअघि फिलिपिन्समा एक, हङकङमा एक र जापानमा एकजनाको निधन भइसकेको छ। अन्य सबै मृतक चीनको मुख्य भूमिका हुन्।
योसँगै कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या १५२० पुगेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
विश्वभर ६७ हजार मानिसमा कोरोना भाइरस संक्रमण भएको छ।
चीनमा स्वास्थ्यकर्मी नै संक्रमणमा परेका छन्। अहिलेसम्म ६ जना स्वास्थ्यकर्मीको निधन भइसकेको छ भने १७ हजारलाई यो भाइरस संक्रमण भएको चिनियाँ अधिकारीहरूले बताएका छन्।