काठमाडौं - सरकारले ‘विशिष्ट व्यक्ति’ लाई दिएका विभिन्न दर्जाका १९२ विभूषण र संविधानसभा सदस्यलाई प्रदान गरिएका २४६ पदक सम्बन्धित व्यक्तिले नबुझ्दा गृह मन्त्रालयमै थन्किएका छन्।
औपचारिक कार्यक्रममा राष्ट्रपतिबाट प्रदान हुने ती विभूषण र पदक सम्बन्धित व्यक्तिले नलिएपछि गृहले ‘लिन आउन’ एकमहिने सूचना पनि प्रकाशित गरेको छ।
एक साताअघि सूचना प्रकाशित भएपछि केही व्यक्तिले पदक बुझ्न आएको गृह मन्त्रालयका उपसचिव भूपेन्द्र थापाले जानकारी दिए।
२०६४ र २०७० को संविधानसभाका १ हजार १०६ जना संविधानसभा सदस्यलाई संविधानसभा पदक दिने घोषणा भएको थियो। २०७६ सालमा गणतन्त्र दिवसको अवसर पारेर राष्ट्रपति विद्यादेवी भण्डारीले उपस्थित तत्कालीन संविधानसभा सदस्यहरूलाई पदक दिएकी थिइन्। जसमध्ये २४६ जनाले हालसम्म उक्त पदक बुझेका छैनन्।
किन लिएनन् पदक?
मधेस केन्द्रित दलका नेताहरुले संविधानप्रति असन्तुष्टि जनाउँदै पदक बुझेका छैनन् भने कतिपयले बेवास्ता गरेर पनि पदक लिन गएका छैनन्। केहीले भने विभिन्न कारण देखाई संविधानसभा पदक बहिष्कार गरेका छन्।
सरकारले प्रदान गरेको विभूषण नलिएका पत्रकार युवराज घिमिरेले आफ्नो मूल्यमान्यताका कारण पदक लिन असमर्थ रहेको बताए।
उनले भने, “राष्ट्रिय जीवनमा महत्त्वपूर्ण योगदान दिने व्यक्तिहरूलाई राष्ट्रले सम्मान गर्नु राम्रो हो। तर, किन दिइयो भन्ने कुरा समाज र व्यक्तिलाई थाहा हुनुपर्छ।”
उनले आफ्नो विचार नसुन्ने सरकारले दिएको पदक अस्वीकार गरेको बताए । भने, “एउटा पत्रकार र स्तम्भकार भनेको विचार दिने व्यक्ति हो। तर, मेरो विचार सुनिँदैन तर, पदक दिइन्छ भने मैले किन लिने ? त्यसैले मैले अस्वीकार गरेको हुँ।” उनले आफूलाई उक्त पदक दिइनुको कारणसमेत थाहा नभएको बताए। उनले भने, “राष्ट्रको ढुकुटीमा बोझ बन्नुको कारण मैले थाहा पाउनु पर्यो नि!”
कांग्रेस नेता प्रदीप गिरीले संविधानसभा पदक ‘मन नलागेर’ नलिएको बताए। उनले भने, “त्यो तक्मा लिनै मन लागेन, अरू त के भन्नू र खै।”
राष्ट्रकवि माधव घिमिरे, कांग्रेस नेता गगन थापा, विश्लेषक सीके लालले पनि सरकारले दिएका विभूषण लिएका छैनन्।
त्यस्तै हास्य कलाकारद्वय मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य र अभिनेत्री रेखा थापाले पनि सरकारले दिएका विभूषण लिएका छैनन्।
विभूषण नलिनेहरू
सरकारबाट २०६७ देखि २०७५ सम्म घोषणा भएका विभूषणमध्ये १९२ जनाले विभूषण लिन आएका छैनन्। यीमध्ये विभूषण बहिष्कार गर्नेदेखि विभूषणको ओज नै नदेखेर पनि नलिनेहरु पनि छन्।
समाजका विविध क्षेत्रमा विशेष योगदान दिने व्यक्तिलाई राजतन्त्रमा राजाले विभूषित गर्थे। गणतन्त्र आएपछि सरकारको सिफारिसमा राष्ट्रपतिबाट विभूषण प्रदान गर्ने क्रम सुरु भएको हो।
गृहअन्तर्गत रहेको विभूषण समितिले विभूषणका लागि सिफारिस गर्छ।
विभूषण नलिएका पत्रकारहरु
सरकारले घोषणा गरेका सुप्रबल जनसेवा श्री र प्रबल जनसेवा श्री विभूषण नलिएका पत्रकारको संख्या ९ जना छ। जसमा दुई जनालाई मरणोपरान्त विभूषित गरिएको छ।
सरकारले दिन्छु भने पनि विभूषण नलिने पत्रकारमा कनकमणि दीक्षित (सुप्रबल जनसेवा श्री २०६७), युवराज घिमिरे (सुप्रबल जनसेवा श्री २०६७), स्व.वीरेन्द्र साह (मरणोपरान्त) (प्रबल जनसेवा श्री २०६७), किशोर नेपाल (प्रबल जनसेवा श्री २०७१), पन्नालाल गुप्ता (प्रबल जनसेवा श्री २०७१), कृष्ण सेन इच्छुक (मरणोपरान्त) (सुप्रबल जनसेवा श्री २०७३), नारायणप्रसाद शर्मा (प्रबल जनसेवा श्री २०७३), शिव गाउँले (सुप्रबल जनसेवा श्री २०७५) र गोपाल थपलिया (प्रबल जनसेवा श्री २०७५) छन्।
उपसचिव थापा भन्छन्, “हामीले विभूषण लिन आउनका लागि एक महिनासम्मको समय दिएका छौं। एक महिनाभित्र पदक लिन नआए सम्पूर्ण सूची विभूषण समितिमा पठाउँछौं।”
विभूषण समितिले नलिनेको विभूषण रद्द गर्न सक्ने थापाले बताए।
धेरैले पदक नलिनुको कारण सार्वजनिक रूपमा भन्न नचाहे पनि त्यो पदक दिने सरकारप्रतिको विरोध नै हो। धेरै देशमा आफ्ना कुरा सुनिन छोडेपछि वा सरकारले गरिरहेका कामकारबाहीप्रति असहमति बढ्दै जाँदा प्राप्त पदकहरू फिर्ता गर्ने चलनसमेत छ।
जबजब सरकारले जनविरोधी कामहरु गर्न थाल्छ तब पदक फिर्ता गरेका थुप्रै उदाहरण छिमेकी भारतमा पनि देखिन्छ। कतिपयले भने प्राप्त पदकको गरिमा नै सानो देखेर पनि लिएका छैनन्।
संविधानसभा पदक नबुझ्नेहरू
संविधानसभा पदक नबुझ्नेमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेता शेरबहादुर देउवा पनि छन्। देउवा दुवै संविधानसभाका सदस्य थिए। देउवा पत्नी आरजु राणा देउवाले पनि संविधानसभा पदक लिएकी छैनन्। उनी पनि दुवै संविधानसभामा सदस्य थिइन्।
कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइराला र सुशील कोइरालालाई मरणोपरान्त प्रदान गरिएका पदक लिन पनि उनीहरुका आफन्त पुगेका छैनन्।
सत्तारुढ नेकपाका उपाध्यक्ष वामदेव गौतमले पनि संविधानसभा पदक लिएका छैनन्। उनी २०७० को संविधानसभामा निर्वाचित थिए। यद्यपि, नेकपाका अधिकांश संविधानसभा सदस्यले संविधानसभा पदक बुझिसकेका छन्।
पदक नबुझ्नेमा समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव छन्। राजपा नेपालका अध्यक्ष मण्डलका सदस्यहरु महन्थ ठाकुर, महेन्द्र राय यादव, राजकिशोर यादव, राजेन्द्र महतो, शरत्सिंह भण्डारीले पनि पदक बुझेका छैनन्। राप्रपा अध्यक्ष कमल थापाले पनि संविधानसभा पदक बुझेका छैनन्।
उनीहरुले संविधानप्रति असन्तुष्टि जनाउँदै आएका छन्। मधेस केन्द्रित दलका नेताहरूले संविधान संशोधन माग राख्दै आएका छन् भने राप्रपाले धर्मनिरपेक्षताका विषयमा असन्तुष्टि जनाउँदै आएको छ।
कांग्रेस नेताहरु कृष्णप्रसाद सिटौला, गगन थापा, प्रदीप गिरी, विजयकुमार गच्छदार, विमलेन्द्र निधिलगायतले पनि पदक बुझेका छैनन्।