काठमाडौं- चालू आर्थिक वर्षको पहिलो ६ महिनामा आन्तरिक राजस्वमा ३०.३ प्रतिशतले बढेर एक खर्ब १२ अर्ब ६० करोड रुपैयाँ पुगेको छ। अन्य करको वृद्धिदरमा कमी आए पनि आयकरतर्फ भने बढोत्तरी भएको छ।
भन्सार राजस्व र अन्तशुल्क राजस्वको वृद्धिमा कमी आइरहेको बेला आन्तरिक कर बढ्नु अर्थतन्त्रको लागि सकारात्मक संकेत भएको अर्थमन्त्री डा.युवराज खतिवडाको दाबी छ।
अर्थमन्त्रालयका अनुसार आयकर अन्तर्गत संस्थागत आयकर र व्यक्तिगत आयकर क्रमश २१.७ र २२.७ प्रतिशतले बढेको छ भने लगानीको आयकर ३७.८ प्रतिशतले बढेको छ।
आयकर अन्तर्गत संस्थागत आयकर र व्यक्तिगत आयकरतर्फ करिव २२ प्रतिशतले वृद्धिदर हासिल भएको छ, भने लगानीतर्फको आयकरमा करिव ३८ प्रतिशको वृद्धि भएको अर्थमन्त्रालयले जनाएको छ।
संस्थागत आयकरतर्फ सरकारी संस्थानहरुले दाखिला गर्ने आयकरमा उल्लेख्य वृद्धि भएको छ। सरकारी कम्पनीतर्फको आयकरमा १७९ प्रतिशतले वृद्धि भई ६ अर्ब ७२ करोड कर उठेको छ।
त्यस्तै पब्लिक लिमिटड कम्पनीतर्फ २०.४ प्रतिशतले वृद्धि भई २३ अर्ब ८९ करोड पुगेको छ भने निजी लिमिटेड कम्पनीतर्फ ११.३ प्रतिशतले वृद्धि भएर १८ अर्ब ५० करोड रुपैयाँ पुगेको छ। त्यस्तैगरी अन्य कम्पनीहरुको आयकर भने १२.२ प्रतिशतले घटेर ४ अर्ब ७१ करोड पुगेको अर्थमन्त्रालयले जनाएको छ।
सरकारले एक हजार भन्दा बढी रकमको भुक्तानीमा प्यान वा भ्याट अनिवार्य गरेका कारण पनि संस्थागत आयकर बढेको अर्थमन्त्रालयले जानकारी दिएको छ।
व्यक्तिगत आयकर असुली हेर्ने हो भने प्रोप्राइटरसिप आयकरमा १९.६ प्रतिशत पारिश्रममिक करमा २७.१, सामाजिक सुरक्षा कर ११, पुँजीगत लाभकर २८.५ प्रतिशतले बढेको छ। सरकारले प्रत्येक व्यक्तिलाई प्यान नम्बर अनिवार्य गरको कारण आयकरमा उल्लेख्य वृद्धि भएको हो।
त्यसैगरी लगानीको आयकरमा पनि वृद्धि भएको छ। घरबहाल कर गत बर्षको तुलनामा ५.५ प्रतिशत घटेको छ। त्यस्तै व्याज कर १८.२, पुँजीगत लाभकर ३६६.६, लाभांस ११.८, लगानीको अन्य आय ९४.२, आकस्मिक लाभ ५७.७, र अन्य आयकर २१.८ प्रतिशत रहेको अर्थमन्त्रालयले जनाएको छ।
चालु आर्थिक वर्षको अर्धवार्षिक समिक्षाका क्रममा अर्थमन्त्री डा.खतिवडाले पछिल्लो समयमा करदाताको संख्या ३१ लाख ३९ हजार ३१ जना पुगेको भन्दै जम्मा ६ महिनाको अवधिमा मात्र ९ लाख ६७ हजार ५ सय ७ जना करदाता थपिएको बताए।
उनले करदाताको संख्यामा आएको वृद्धिका कारण नै आन्तरिक करमा वृद्धि भएको दावी गरे।