नयाँ दिल्ली– दिल्ली विधानसभा चुनावमा सत्ताधारी दल आम आदमी पार्टी (आप)ले अत्यधिक बहुमतसाथ विजय हासिल गरेको छ।
मंगलबार राति सार्वजनिक मतपरिणाम अनुसार विधानसभाका ७० सिटमध्ये आपले ६२ मा विजय हासिल गरेको छ। यस्तै, भारतीय जनता पार्टी (भाजपा)ले ८ सिटमा जित निकालेको छ।
अघिल्लो चुनावमा शून्य देखिएको भारतीय कंग्रेसले यस पटक पनि उही नतिजा दोहोर्याएको छ।
गत शनिबार सम्पन्न चुनावमा आपले लगातार दोस्रो पटक दुईतिहाई बहुमत पाएको छ। दिल्ली विधानसभामा दुईतिहाई बहुमतका लागि ४७ सिट आवश्यक पर्छ।
यसअघि सन् २०१५ को विधानसभा चुनावमा आपले ६७ सिटमा र भाजपाले ३ सिटमा विजयी हासिल गरेको थियो।
मतपरिणामले नयाँ राजनीतिलाई जन्म दियो : केजरीवाल
आपका राष्ट्रिय संयोजक अरविन्द केजरीवालले मत परिणामले भारतमा नयाँ राजनीतिलाई जन्म दिएको बताए। उनले भने, “दिल्लीका जनताले जसले स्कुल बनाउँछ, क्लिनिक बनाउँछ, २४ सै घन्टा बिजुली सस्तोमा दिन्छ, त्यसलाई भोट दिने सन्देश दिएका छन्।”
उनले आपलाई दुईतिहाईभन्दा बढी सिटमा जित दिलाउने मतदातालाई धन्यवाद पनि दिएका छन्।
विधानसभा पराजयलाई स्वीकार्छाैं : भाजपा
भाजपा राष्ट्रिय अध्यक्ष जेपी नड्डाले विधानसभामा पराजयलाई स्वीकार गरेको बताएका छन्। “भाजपा दिल्लीका जनताले दिएको जनादेशको सम्मान गर्छ। सबै कार्यकर्ताले यस चुनावमा अथक परिश्रम गरे तथा दिनरात चुनावमा सक्रिय रहे। सबै कार्यकर्तालाई हृदयबाट अभिनन्दन तथा साधुवाद,” उनले आफ्नो ट्विटर ह्यान्डलमा ट्विट गरेका छन्।
यसैबीच, कंग्रेसले पनि जनादेश स्वीकार गर्ने बताएको छ।
कंग्रेस प्रवक्ता रणदीप सुरजेवालाले पत्रकारसँग भने, “जनताले आफ्नो जनादेश दिएका छन्। जनादेश कांग्रेसको विरुद्ध छ, हामी कांग्रेसको तर्फबाट यो जनादेशलाई विनम्रतापूर्वक स्वीकार गर्छाैं।”
कांग्रेसका ६७ उम्मेदवारको धरौटी जफत
विधानसभा चुनावमा भारतीय कंग्रेसका ७० मध्ये ६७ उम्मेदवारको धरौटी जफत हुने भएको छ।
कूल मतको ६ प्रतिशत मत नपाउने उम्मेदवारको धरौटी जफत हुने कानुनी व्यवस्था छ।
कंग्रेसले कूल मतको पाँच प्रतिशतभन्दा कम मत पाएको छ। भारतीय निर्वाचन आयोगका अनुसार कंग्रेसका अधिकतर प्रत्यासीले पाँच प्रतिशतभन्दा कम मत पाएका छन्।
यसैबीच, दिल्ली प्रदेश कांग्रेस कमिटी अध्यक्ष सुभाष चोपडाले हारको नैतिक जिम्मेवारी लिँदै पदबाट राजीनामा गरेको छन्।