काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजनीतिक प्रतिशोध र बदनियतपूर्ण ढंगले आफ्नो पार्टीका नेतालाई भ्रष्टाचारको मुद्दा लगाएको र नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेतालाई जोगाएको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दलले आज (आइतबार) राजधानीमा प्रदर्शन गरेको छ।
राजधानीको माइतीघर मण्डलाबाट सुरु भएको प्रदर्शन बानेश्वर चोकमा पुगेर कोणसभामा परिणत भएको थियो।
अख्तियारले ललिता निवास जग्गा प्रकरणमा नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारलगायत १७५ जनामाथि मुद्दा चलाएकाे छ भने साेही प्रकरणमा मुछिएका नेकपाका महासचिव विष्णु पौडेललगायतलाई कारवाहीको दायरामा ल्याएको छैन।
घटनाको विरोधमा केही दिनयता कांग्रेस आन्दोलित छ। कांग्रेसले बिहीबारयता तीन पटक संसद् बैठकसमेत अवरोध गरिसकेको छ। आज दिउँसो १ बजे बोलाइएको बैठक पनि कांग्रेस अवरोधका कारण सुरु हुन सकेन।