जनकपुरधाम- प्रदेश २ सरकारका एकमन्त्रीले अहिलेको संघीयतासम्बन्धी ‘मोडेल’ प्रति गुनासो व्यक्त गरेका छन्। प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री विजय यादवले अधिकार नै नरहेको अहिलेको संघीयता इकाईभन्दा बढी नरहेको बताएका छन्।
नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले शनिबार जनकपुरमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै आर्थिक मामिलामन्त्री यादवले संघीय सरकारप्रति आक्रोश पोख्दै अधिकारविहीन प्रदेशले जनअपेक्षाअनुसार काम गर्न नसकेको बताए।
‘प्रदेशलाई केही अधिकार दिइएको छैन, सबै अधिकार संघ मातहत छ, अहिलेको संघीयता विगतको इकाईभन्दा अरु केही होइन, संघीयताको मूल्यमान्यता पूरा गर्न प्रदेशलाई अधिकार सम्पन्न बनाउनु पर्दछ,’ यादवले भने।
‘गाउँगाउँमा सिंहदरबार पुगेको नारा दिइएको छ,’ मन्त्री यादवले भने, ‘तर मोडेल राजा महेन्द्रको भन्दा फरक हुनसकेको छैन। अधिकार नै नभएको संघीयता भएको छ।’
बालुवाटार जग्गा प्रकरण प्रति टिप्पणी गर्दै यादवले हिनामिना भएको जग्गा फिर्ता गर्नेलाई उन्मुक्ति दिनु भनेको भ्रष्टाचारलाई बढावा दिनमात्र रहेको बताए। राज्यको स्वतन्त्र निकाय अख्तियार पनि सरकारको चङ्गुलमा फसेको उनको भनाइ थियो।