भक्तपुर – चीनको वुहानबाट नेपाल फर्काउन लागिएका नेपालीलाई राख्नका लागि भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको दुई वटा भवन खाली गरिएको छ।
प्राधिकरणको वातावरण तथा सामाजिक अध्ययन विभाग र होस्टेल भवन खाली गराएको हो।
त्यस्तै चीनको वुहानबाट नेपाल फर्काउन लागिएका नेपालीलाई राख्न क्वारेन्टाइनका दुई भवन खाली गराएको नेपाल विद्युत् प्राधिकरण खरिपाटीका सहनिर्देशक केशवराज ओलीले बताए।
भवन खाली गराउन होस्टेलमा रहेका बिरामीलाई फर्काइएको र दुवै भवनका सबै सामान झिकेर माथिल्लो प्रशासनिक भवनमा सारिएको छ।
नेपाली सेनाको प्राविधिक, स्वास्थ्य मन्त्रालयलगायत टोलीले अध्ययन गरी उक्त ठाउँको छनौट गर्दै प्रतिवेदन बुझाएपछि सरकारले खरिपाटीस्थित प्राधिकरणमा आइसोलेशन वार्डका रुपमा क्वारेन्टाइन राख्ने निर्णय गरेको बताइएको छ।
टोलीले अध्ययनका क्रममा १२४ जनालाई यहाँ राख्न सकिने जानकारी गराउँदै ठाउँ खाली गराएको प्राधिकरणले जनाएको छ।
भक्तपुरका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे, महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख सबिन प्रधानलगायत सुरक्षा निकायको टोलीले शुक्रबार उक्त स्थानको अवस्था र तयारीबारे अवलोकन गरेका थिए।
सहनिर्देशक ओलीले सरकारको यो निर्णयसँगै यहाँका कर्मचारीमा त्रास फैलिएको बताए।
कर्मचारीमा त्रास फैलिएकाले त्यस क्षेत्रमा बसेर काम गर्न सक्ने वातावरण नभएको भन्दै कर्मचारीलाई कहाँ लैजाने भन्ने निर्णय नभएको बताइएको छ।
प्राधिकरणभित्र अहिले विभिन्न २६ वटा विभाग एवं कार्यालय रहेको र सबै विभाग बन्द गर्नुपर्ने अवस्था आएको बताइएको छ।
खरिपाटीमा क्वारेन्टराइन राख्ने सरकारको निर्णयसँगै स्थानीयवासीले चर्को विरोध गर्दै आएका छन्। स्थानीयवासीले यो ठाउँमा क्वारेन्टाइन राख्न नदिने भन्दै दैनिक आन्दोलन गर्दै आएका छन्।
चाँगुनारायण नगरपालिकाको छैटौँ नगरसभाले चीनको वुहानबाट नेपाल फर्काउन लागिएका नेपालीलाई खरिपाटीमा राख्ने सरकारको निर्णयप्रति आपत्ति जनाउँदै विकल्प खोज्न आग्रह गरेको नगरप्रमुख सोमप्रसाद मिश्रले बताए।
उनले चीनबाट फर्काइएका नेपालीका लागि खरिपाटीमा क्वारेन्टाइन राख्ने सरकारको निर्णय कुनै पनि दृष्टिकोणले उपयुक्त नभएको नगरसभाले ठहर गर्दै त्यसको विकल्प खोज्न आग्रह गरेको उनले जानकारी दिए।
बस्तीभन्दा दुई किलोमिटर टाढा क्वारेन्टाइन राख्नुपर्ने अन्तरराष्ट्रिय मान्यतालाई सरकारले मिच्दै बस्तीको बीचमा चीनबाट फर्काइएका नेपाली राख्न खोजेको भन्दै विरोध जनाइएको हो। –रासस