काठमाडौं– बालुवाटार जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाली कांग्रेस नेता विजयकुमार गच्छदार सहित १७५ जनाविरुद्ध मुद्दा दायर गरेपछि पूर्वमन्त्री जयप्रकाश (जेपी) गुप्ताले यो प्रकरणबारे प्रतिक्रिया व्यक्त गरेका छन्।
गुप्ताले कांग्रेसभित्र आफ्नै साथीलाई फसाउने खेल हुने गरेको र कम्युनिष्टहरुले अपराधी मित्रलाई समेत जोगाउने गरेको उल्लेख गरेका छन्।
सामाजिक सञ्जालमा गुप्ताले भनेका छन्, ‘पञ्चतन्त्र’ को शिक्षा जे भएपनि नेपाली ‘राज्यतन्त्र’ले दिएको शिक्षा भने ‘कांंग्रेसले आफ्नो साथीलाई नै फसाउँछ, कम्युनिष्ट भने आफ्ना अपराधी मित्रलाई पनि जोगाउँछ’ नै हो।’
उनले अख्तियारको स्वेच्छाचारिताका विषयमा पनि बोलेका छन्। ‘मैले बुझेसम्म मन्त्रिपरिषद्ले १) नीतिगत, २) कानुनबाट प्रत्यायोजित विषयमा मात्र निर्णय गर्ने गर्दछ। ३) ललिता निवास जग्गा प्रकरणको निर्णय कुन आधारमा मन्त्रिपरिषद्को नीतिगत निर्णयको दायरामा पर्छ? अख्तियार ऐनमा रहेको क्षेत्राधिकारको प्रसंगको व्याख्या ऊ स्वयंको स्वेच्छाचारी परिभाषाको विषय हुनसक्छ र?’ उनले लेखेका छन्।
कांग्रेस नेता खुमबहादुर खड्कालाई मुद्दा लगाइँदा माछाभातको भोज गर्ने कांग्रेसहरुमाथि पनि गुप्ताले प्रहार गरेका छन्। ‘समय बदलिएको हो, कि मन नपरेको छिमेकीलाई खाने बाघ आफ्नो दैलोमा आइपुगेको हो? खुमबहादुर खड्काको मुद्दामा ‘माछाभात’ खाने नेतृत्व ‘अख्तियारलाई उसको काम गर्न दिनुपर्छ’ भनेको ठाउँमा अब ‘बदनियतपूर्ण’ देख्न थालेछ।’
गुप्ता मन्त्री पदमा बहाल छँदा नै अदालतको आदेश अनुसार भ्रष्टाचार मुद्दामा जेल परेका थिए। हाल उनको मुद्दा पुनरवलोकनका लागि सर्वोच्च अदालतमा विचाराधिन छ। यद्यपि, उनले आदेश अनुसार कैद भुक्तान गरिसकेका छन्।