बुधबार, भदौ ३, २०८३

मुस्ताङमा पुनः हिमपात, कृषक खुशी

जिल्लामा पुनः हिमपातसँगै बढेको चिसोले जनजीवन प्रभावित भएको छ ।
 |  शुक्रबार, माघ २४, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ २४, २०७६

मुस्ताङ । जिल्लामा पुनः हिमपातसँगै बढेको चिसोले जनजीवन प्रभावित भएको छ । जोमसोम, मुक्तिनाथ, लेतेलगायत मुस्ताङका तल्लो क्षेत्रमा हिउँ परेको प्रमुख जिल्ला अधिकारी बेदप्रसाद अर्यालले जानकारी दिए । सडकमा हिउँ कम भएका कारण बेनी–जोमसोम, जोमसोम–मुक्तिनाथ र जोमसोम–लोमान्थाङ सडकमा यातायात सुचारु रहेको उनले बताए ।

जोमसोमा आधा फिटसम्म र जोमसोममाथिको गाउँहरुमा एक फिटसम्म बाक्लो हिउँ जमेको छ । लोमानथाङ गाउँपालिका, लोघेकर दामोदरकुण्ड गाउँपालिका बिहीबार बेलुका केही मात्रामा मात्र हिउँ परेको लोघेकर दामोदरकुण्ड गाउँपालिका वडा नं १ का अध्यक्ष टसीढिन्डु ठकुरीले जानकारी दिए ।

बिहीबार रातभर हिँउ परेपनि आज बिहान मौसम खुला भएको जोमसोमका बासिन्दा देउबहादुर विकले बताए । गाई, भेडा, चौँरी, च्याङ्ग्रालगायत घरपालुवा जनावरलाई सुक्खा घाँसपात खुवाएर राखिएको छ । चरनका लागि हिउँ पग्लिएपछि छाडिने उनले जानकारी दिए ।

सरकारी कार्यालयमा सेवाग्राहीको उपस्थिति पनि न्यून छ । सडक, पुल, भवन, सिँचाइलगायत विकास निर्माणका काम पनि चिसोका कारण प्रभावित बनेको छ । उपल्लो मुस्ताङका बासिन्दा कुरुवालाई घर जिम्मा लगाएर जाडो छल्न कात्तिकमै बेँसीका न्यानो स्थानमा झरेका थिए ।

वर्षा र हिमपातले कृषकमा खुशीयाली छाएको छ । यो वर्ष मुस्ताङमा चौथोपटक हिउँ परेको हो । वर्षा भएपछि सिँचाइ हुने, खेतबारीमा राखेको मल भिजेर बिरुवालाई आवश्यक तत्व आपूर्ति हुने घरपझोङ्ग गाउँपालिका–५ ठिनीका कृषक पलडिसी थकालीले बताए ।

हिउँ पग्लिएर खेतबारीमा हालेको मल भिज्ने र बोटबिरुवा फस्टाउने, उत्पादन बढ्ने जनाइएको छ । स्याउको फूल फुल्नका लागि चिसोपनाको आवश्यकता पर्ने, चिलिङ्ग रिक्वायरमेन्टका लागि शून्य तापक्रमको आवश्यकता पर्ने हुँदा हिउँ पर्दा राम्रो हुने स्याउ जोनका कार्यालय प्रमुख माधव लम्सालले जानकारी दिए । हिउँ परेपछि स्याउ, जौ, गहुँ, उवा, फापर बाली सप्रने जनाइएको छ ।

प्रकाशित: Feb 07, 2020| 10:56 शुक्रबार, माघ २४, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।