काठमाडौं– तपस्वीको भेषमा बसिरहेका रामबहादुर बमजनलाई पक्राउ गर्न प्रहरीको टोली शुक्रबार उनको सिन्धुलीस्थित आश्रम पुगेको छ।
हत्या, बलात्कार र बेपत्ताकाे आरोप लागेका बमजनलाई शुक्रबार बिहानैदेखि आश्रम र वरपरको जंगलमा खोजे पनि नभेटाएको प्रहरीले जनाएको छ।
बमजनलाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय, सिन्धुली र केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को गरी दुई टोली परिचालन भएको छ।
जिल्ला प्रहरी कार्यालय, सिन्धुलीबाट डिएसपी श्यामबहादुर खत्रीको नेतृत्वमा र सीआईबीबाट निरन्जन भट्टको नेतृत्वमा टोली परिचालन भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीकी प्रमुख रन्जु सिग्देलले नेपाल समयलाई जानकारी दिइन्। उनका अनुसार प्रहरीले आश्रममा घेरा हालेको छ।
एक अनुयायीको हत्या गरेको, तीन आनी तथा एक अनुयायीलाई बेपत्ता पारेको र कम्तीमा एक आनीलाई बलात्कार गरेको आरोप लागेका बमजनलाई जिल्ला अदालत, सिन्धुलीले बिहीबार पक्राउ गर्ने अनुमति दिएको थियो।