धनगढी - उद्योग वाणिज्य तथा आपूर्ती मन्त्री लेखराज भट्टले विवादका बाबजुद एमसीसी संसदबाट पास हुने दाबी गरेका छन्।
औद्योगिक क्षेत्रको निरीक्षणका लागि मन्त्रालयको टोलीसहित सुदूरपश्चिम आएका मन्त्री भट्टले पार्टी भित्र छलफल तथा विवाद आएपनि एमसीसी पास हुने बताए। मन्त्री भट्टले पार्टी भित्र कुनै पनि विषयमा छलफल तथा बहस हुनु कुनै नौलो कुरा नभएको स्पस्ट पारे।
‘एमसीसीको विषयमा अध्ययन गर्न पार्टीले कार्यदल बनाएको छ, त्यो कार्यदलको सुझाब अनुसार नै पार्टी अगाडि बढ्छ’, मन्त्री भट्टले भने। एमसीसीमा पार्टीको एकमत रहेको कुरा उल्लेख गर्दै मन्त्री भट्टले कार्यकर्तामा सो विषयले चर्चा पाउनु सामान्य रहेको बताए। एमसीसी सिधै पास गर्ने वा परिमार्जन गरेर पास गर्ने भन्ने कुरा कार्यदलाई जिम्मा दिइएकाले सोही अनुसार हुने उनले बताए।
उनले कैलालीको हरैयामा रहेको विशेष आर्थिक क्षेत्र, कञ्चनपुरको छेलामा रहेका औद्योगिक क्षेत्र, दोधाराचाँदनी सुख्खा बन्दरगाहलगायतका क्षेत्रको स्थलगत अध्ययन गर्न मन्त्रालयको टोली लिएर आएको बताए।
विशेष गरि झलारीको छेला, दोधाराचाँदनीको सुख्खा बन्दरगाहको योजनालाई मुख्य रुपमा छिटो भन्दा छिटो कार्यान्वय गर्न सकिन्छ भनेर अध्ययन गरिने उनले बताए। उनले कैलालीको हरैया आर्थिक क्षेत्र र डुडेझारी औद्योगिक क्षेत्रको पनि अध्ययन गर्ने र त्यही अध्ययनको आधारमा रिपोर्ट तयार पार्ने जानकारी दिए।
उनले गेटा–धनगढी रोडमा पनि औद्योगिक करिडोरको कामलाई अगाडि बढाइने बताए।
यस्तै उनले गेटा मेडिकल कलेजको सञ्चालन विधीका बारेमा छलफल भइरहेको जानकारी दिए। यस क्षेत्रका जनताको आवश्यकता बमोजिम मेडिकल कलेजलाई स्वायत्त प्रतिष्ठानको रुपमा अगाडि बढाउनु पर्नेमा मन्त्री भट्टले जोड दिए।