काठमाडौं- चीन केही हप्ता यता कोरोना भाइरसको महामारीबाट आक्रान्त छ। त्यहाँ यो भाइरसका कारण साढे ५ सयभन्दा बढी मानिसको मृत्यु भइसकेको छ भने हरेक दिन झण्डै ३ हजार संक्रमितहरु थपिइरहेका छन्।
यसरी फैलिएको महामारीलाई संयुक्त राष्ट्र संघ अन्तर्गत विश्व स्वास्थ्य संगठन डब्लु एचओलेसमेत विश्वव्यापी संकटका रुपमा लिँदै स्वास्थ्य संकटकालको घोषणा नै गरिसकेको छ।
चीनमा मुख्य रुपमा हुबेई प्रान्तको वुहान सहर कोरोनाको महामारीबाट पिल्सिएको छ।
त्यसबाहेक नेपालमा एकजना संक्रमित सहित विश्वका २० भन्दा बढी देशमा करिब डेढ सय भन्दा बढी विरामी फेला परिसकेका छन्।
चीनले कोरोना भाइरसबाट संक्रमितको उपचारका साथै यसको उपचारका लागि खोप पत्ता लगाउने विभिन्न अध्ययनसमेत थालिसकेको छ।
यही बीचमा चीनले कोरोना संक्रमितको उपचारका लागि ठूला ठूला अस्पतालहरुसमेत निर्माण गरिरहेको छ।
केही दिनअघि मात्रै चीनले १ हजार बेडको एउटा अस्पताल निर्माण सम्पन्न गरेको थियो।
त्यसअघि एउटा खाली भवनलाई ४ दिनमा अस्पतालका रुपमा परिणत गरेको थियो।
त्यसबाहेक पछिल्लो पटक चीनले २६ सय बेडको नयाँ अस्पताल तयार गरेको छ।
नेपालका लागि चिनियाँ राजदूत होउ यान्कीले चीनले गरेको यो अथक प्रयासको प्रशंसा गर्दै ती तस्बिरहरु ट्वीटरमा शेयर गरेकी छन्।
सिन्ह्वालाई साभार गरेर शेयर गरिएका तस्बिरसँगै उनले कोरोना भाइरसविरुद्धको लडाईँ जितिने विश्वास लिएकी छन्।