काठमाडौं- मस्यौदा तयार गर्दादेखि नै विवादित बनेको मिडिया काउन्सिल विधेयकमाथि संघीय संसदको राष्ट्रिय सभामा छलफल भइरहेको छ।
आजको बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल प्रसाद बाँस्कोटाले ‘नेपाल मिडिया काउन्सिल विधेयक, २०७५ माथि छलफल गरियोस्’ भनी प्रस्ताव पेस गरेपछि छलफल भइरहेको हो।
छलफलपछि मन्त्री बाँस्कोटाले उक्त विधेयक पारित गर्ने प्रस्ताव लग्नेछन्। प्रक्रियाअनुसार उक्त विधेयक आजै पारित हुन सक्नेछ। मिडिया काउन्सिल विधेयक लामो समयदेखि विवादित रहँदै आएको छ।
केही प्रावधानहरु संशोधन गरेर संसदीय समितिबाट विधेयक पारित भइसकेको छ। राष्ट्रियसभाबाट पारित भएको खण्डमा मिडिया काउन्सिल विधेयक प्रतिनिधिसभामा पेस हुनेछ।