बार्सिलोना - बार्सिलोनाका खेल निर्देशक एरिक अबिडाल लियोनेल मेस्सीको आक्रामक प्रतिक्रिया पछि पनि बार्सिलोनामै रहने भएका छन्। बार्सिलोनाका फरवार्ड मेस्सीले अबिडालको एक अभिव्यक्तिप्रति आपत्ति जनाउँदै सामाजिक सञ्जालमा पोस्ट गरेका थिए।
अभिडालले भालभर्डेको प्रशिक्षणमा खेलाडीले मेहनत नगरेको आरोप खेलाडीमाथि लगाएपछि मेस्सीको तत्कालै प्रतिक्रिया आएको थियो।
मेस्सीको प्रतिक्रियापछि बार्सिलोनाले फ्रान्सका पूर्वडिफेन्डर अबिडाललाई बुधबार आपतकालिन बैठकका लागि बोलाएको थियो। बैठकमा उनको अभिव्यक्ति र मेस्सीको प्रतिक्रियाबारे दुई घण्टा छलफल चलेको थियो।
दुई घण्टाको बैठकपछि बार्सिलोनाका खेल निर्देशक क्लबमै रहने निर्णय भएको छ। अबिडाल मेस्सीका पहिलेका टिममेट पनि हुन्। उनले दिएको अन्तरवार्तामा मेस्सीले नाम भनेर मात्र कसले मेहनत गरेन भनेर प्रष्टाउनुपर्ने र सबैले आफ्नो जिम्मेवारीको काम मात्र गर्नुपर्ने भन्दै चर्को आलोचना गरेका थिए।
एक स्पेनिस पत्रिकाको अन्तरवार्तामा अबिडालले भनेका थिए, ‘केही खेलाडीहरुले मेहनत गरेका थिएनन् र असन्तुष्ट पनि थिए। क्लबको सञ्चारमा पनि समस्या देखिएको छ।’उनले थप भने, ‘ड्रेसिङ रुम र कोचको सम्बन्ध राम्रै थियो तर, त्यहाँ पनि केही शंकास्पद कामहरु भइरहेका थिए। मैले सोचेको कुरा क्लबलाई भने र हामी भालभर्डेबारे निर्णय लिने अवस्थामा पुगेका थियौं।’
अबिडालले भनेका कुरामा प्रतिक्रिया दिँदै मेस्सीले समाजिक सञ्जाल इन्स्टाग्राममा लेखेका थिए, ‘मलाई यस्तो विषयमा कुरा गर्न मन लाग्दैन। तर, लाग्छ मान्छेले आफ्नो काम गर्नुपर्छ र आफ्नै कामको लागि निर्णय लिनु पर्छ। हामी(खेलाडी)ले मैदानमा कसरी राम्रो गर्न सक्छौं भन्ने कुरामा उत्तरदायी हुनुपर्छ भने खेल निर्देशकले पनि आफ्नै विभाग सम्हालोस्।’
भालभर्डेलाई गत जनवरीमा बार्सिलोनाले बर्खास्त गर्दै क्वीक सेटिएनलाई प्रशिक्षकको रुपमा भित्र्याएको थियो।