अछाम– संकास्पद अवस्थामा मृत भेटिएका अछामको पन्चदेवल नगरपालिका–२ का वडाध्यक्ष पदम बहादुर धामीको शव उठाउने सहमति भएको छ।
नगरकार्यपालिकाको बैठकले घटनाको सत्यतथ्य छानविनमा सहयोग, मृतकका सन्ततिको शिक्षादिक्षा तथा राहतका लागि केन्द्र सरकारसँग माग गर्नेलगायत निर्णय गरेपछि शव उठाउने सहमति भएको हो।
अनुसन्धान नटुंगिदासम्म वडा र नगरका सम्पूर्ण सरकारी काम काज बन्द गर्ने, बिनायक बजारमा धामीको सालिक स्थापना गर्ने, मृतकका ३ सन्तानलाई १२ कक्षा सम्म नगरपालिकाले अध्यापन गराउने निर्णय गरेको मेयर देवराज देवकोटाले जानकारी दिए।
नगरपालिकाको उक्त निर्णयपछि शवको पोष्र्टमाटम गर्न पीडित परिवार सहमत भएका छन्। धामीको शव मंगलबार बिहान ५ बजे गैरीगाँउस्थित गोठछानामा फेला परेको थियो। प्रहरीका अनुसार धामीको अनुहारै चिन्न नसकिने गरी चोटपटक देखिएको छ। हत्याराको पत्ता नलागेसम्म शव उठाउन नदिने आफन्तको अडानका कारण हालसम्म पोष्टमार्टम समेत हुने नसकेको हो।
हत्याको विरोधमा २ दिन देखि बिनायक बजार र मध्य पहाडी लोकमार्ग ठप्प छ। प्रहरीले सिआईवी र तालिमप्राप्त कुकुरको माध्यमबाट अनुसन्धान शुरू गरेको छ। कुकुरले मृतक अध्यक्ष दिउँसो हिँडेको स्थान पहिचान गरेको स्थानीयले बताएका छन्। तर उनको हत्या भएको स्थान भने कुकुरले पत्ता लगाउन सकेको छैन।