काठमाडौं - काठमाडौंमा जारी विश्वकप लिग २ अन्तर्गतको त्रिपक्षीय श्रृंखलाको आजको खेलमा ओमान र अमेरिका जितका लागि संघर्ष गरिरहेका छन्। किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा लगातार दोस्रो जितको खोजिमा रहेको ओमानले जितका लागि २ सय १४ रनको लक्ष्य पाएको छ।
टस हारेर ब्याटिङ गरेको अमेरिकाले निर्धारित ५० ओभरमा सम्पूर्ण विकेट गुमाउँदै २ सय १३ रन बनायो। अमेरिकाका लागि आयन होल्यान्डले अर्धशतकीय पारी खेल्दै ६५ रन बनाए। उनले ७८ बलमा ७ चौकाको मद्दतमा ६५ रन जोडे। यस्तै अक्षय होमराजले ५३ बलमा ४४ रन बनाए। एकसमय ५४ रन हुँदा ४ विकेट गुमाउँदै कठिन अवस्थामा पुगेको अमेरिकाका लागि होमराज र होल्याण्डले ८२ रनको साझेदारी गर्दै सम्मानजनक योगफलतर्फ डोर्याए। यस्तै जेभियर मार्सलले १३, आरोन जोन्सले १२, मोनांक पटेलले १९ र टिमिल पटेलले १६ रन बनाए। कप्तान सौरव नेत्राभल्करले अविजित १४ रन बनाए।
ओमानका मोहम्मद नदिमले ३ विकेट लिए भने जिसन मक्सोद, अकिब इल्यास र बिलाल खानले समन दुई/दुई विकेट लिए।