काठमाडौं- बालुवाटारको सरकारी जग्गा हिनामिना काण्डमा संलग्न भएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तीन पूर्वमन्त्री र तीन पूर्वसचिवसहित १७५ जना विरुद्ध मुद्दा दायर गरेको छ ।
तर, यहि काण्डमा संलग्न रहेको भनिएका नेकपाका महासचिव विष्णु पौडेल, मन्त्रिपरिषद्बाट निर्णय गराउने तत्कालीन प्रधानमन्त्री माधव नेपाल, बाबुराम भट्टराईलगायत नौ जनाले उन्मुक्ति पाएका छन् ।
अनौठो नजिर कायम गर्दै अख्तियारले जग्गा फिर्ता गर्ने प्रतिवद्धता गरेका कारण महासचिव पौडेलविरुद्ध मुद्दा नचलाएको जनाएको छ । यस्तै सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीले पनि जग्गा फिर्ता गर्ने प्रतिवद्धता जनाएको भन्दै अख्तियारले मुद्दा चलाएको छैन् ।
तर, बालुवाटारका योजनाकारहरूसँग जग्गा किनेका ६५ जना सर्वसाधारणको भने जग्गा जफत गर्न मुद्दा चलाइएको छ । पौडेलका छोरा नवीन र रेग्मीले जग्गा फिर्ता गर्ने बताएकाले मुद्दा नचलाउने निर्णय भएको अख्तियारले आफ्नो मिसिलमा लेखेको छ ।
यस्तै अख्तियारले मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने मन्त्री विजयकुमार गच्छदार, डम्बर श्रेष्ठ र चन्द्रदेव जोशीमाथि मुद्दा चलाएको छ । तर, निर्णय गराउने पूर्वप्रधानमन्त्री माधव कुमार नेपाल र बाबुराम भट्टराईले भने उन्मुक्ति पाएका छन् ।
पूर्वप्रधानमन्त्री नेपालको हकमा २०६७ सालमा मन्त्रिपरिषद्बाट भएको निर्णयमा अख्तियार प्रवेश गर्न नमिल्ने भएकाले मुद्दा दर्ता नगरिएको अख्तियारले जनाएको छ ।
यस्तै पूर्वप्रधानमन्त्री भट्टराईको हकमा पनि २०६९ सालमा गुठीका नाममा कायम गर्ने भनी गरेको सैद्धान्तिक निर्णयमा अख्तियार प्रवेश गर्न नमिलेकाले प्रतिवादी नबनाएको जनाइएको छ ।
यस्तै पूर्व मुख्यसचिव माधव घिमिरेको निधन भइसकेकाले उनका विषयमा प्रवेश नगरिएको अख्तियारले जनाएको छ । अर्का पूर्व मुख्यसचिव लीलामणि पौड्याल मन्त्रिपरिषद्को निर्णय प्रमाणित गरि त्यसबारे पत्राचार मात्रै गरेकाले उनीविरुद्ध मुद्दा चलाउन उचित नदेखिएको अख्तियारको ठहर छ ।
त्यसैगरि पूर्व भूमिसुधार अधिकारी उमानाथप्रसाद ज्ञवालीलाई राणा परिवारको जग्गामा मोहि कायम गर्ने निर्णय गरे पनि प्रत्यक्ष रुपमा सरकारी जग्गा हानी भएको नदेखिएको भन्दै अख्तियारले चोख्याएको छ ।
पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाहलाई पनि अतियारले प्रत्यक्ष रुपमा संलग्न नदेखिएको भन्दै उन्मुक्ति दिएको छ । जब कि जग्गा बकस लिएको भन्दै उनकी श्रीमती उर्मिला शाहविरुद्ध मुद्दा दायर भएको छ ।
यस्तै अख्तियारले पूर्वसहचिव गेहनाथ भण्डारीलाई पनि उन्मुक्ति दिदै उनकी पत्नी र सासुविरुद्ध मुद्दा चलाइएको छ ।