काठमाडौं- बालुवाटारको सरकारी जग्गा हिनामिना गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १७५ जनाविरुद्ध दायर गरेको छ ।
अख्तियारले बुधबार विशेष अदालतमा मुद्दा दायर गर्दै यी ब्यक्तिबाट २० अर्ब बिगो माग दाबी गरेको छ । सबैभन्दा बढि बिचौलियासँग बिगो मागिएको छ । तीन जना बिचौलीबाट मात्रै १ अर्ब ४१ करोड असुल्न र २/२ वर्ष जेल हाल्न अख्तियारले माग गरेको छ ।
बालुवाटको सरकारी जग्गा बेचबिखनको मुख्य योजनाकार मानिएका रामकुमार सुवेदीसँग ५२ करोड ५१ लाख ४० हजार रुपैयाँ बिगो मागिएको छ । यस्तै उनकी पत्नी माधवी सुवेदीसँग पनि अख्तियारले ९१ लाख रुपैयाँ बिगो मागेको छ।
यस्तै अर्का योजनाकार तथा भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरुङसँग ५० करोड ४७ लाख रुपैयाँ बिगो मागिएको छ ।
उनी विरुद्ध अख्तियारले जग्गा धनीका रुपमा ११ करोड र सरकारी जग्गा कमिसनका रुपमा बकस लिएकोमा ३९ करोड विगो मागदाबी गर्दै मुद्दा दायर गरेको छ।
यसैगरी अर्का बिचौलिया तथा योजनाकार शोभाकान्त ढकालसँग ३९ करोड २७ लाख ६८ हजार रुपैयाँ बिगो मागिएको छ । अख्तियारले उनकी पत्नी उमाकुमारी ढकाल्नीसँग ९१ लाख र छोरी लक्ष्मी ढकालमाथि ३ करोड २८ लाख माग दाबी गरेको छ ।
बालुवाटार जग्गामा शोभाकान्त ढकाल र उनकी भान्जीबुहारी शान्ता खनालबीचको लेनदेन विवादको अडियो रेकर्डसमेत बाहिरिएको थियो । जसले यो काण्डका थुप्रै रहस्य खोलेको थियो ।