काठमाडौं- बालुवाटारको सरकारी जग्गा हिनामिनामा संलग्न भएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १७५ जनाविरुद्ध दायर गरेको मुद्दालाई आजका अखबारहरुले ब्यानर न्यूज बनाएका छन् ।
यो दशककै सबैैभन्दा ठूलो भ्रष्टाचार मुद्दाका रुपमा चित्रित गर्दै आजका अखबारहरुले बालुवाटार जग्गा काण्डमा को कोविरुद्ध मुद्दा चल्योदेखि को कोमाथि किन मुद्दा चलेन भन्ने सम्मका विषयमा खबर छापेका छन् ।
भ्रष्टाचारको आरोपमा मुद्दा चलाइएकामा ३ पूर्वमन्त्री, ३ पूर्वसचिव छन् । तीन मन्त्रीमा विजयकुमार गच्छदार, डम्बर श्रेष्ठ र चन्द्रदेव जोशी छन् । तीन सचिवमा दीप बस्न्यात (जो पछि अख्तियार प्रमुख पनि भए ), छविराज पन्त (पछि मन्त्रीसमेत भए) र दिनेशहरि अधिकार (जो गीतकार पनि हुन् ।) रहेका छन् ।
यसै विषयलाई मुख्य समाचार बनाउँदै आजको कान्तिपुर दैनिकले १ सय १० विरुद्ध भ्रष्टाचार मुद्दा शीर्षकमा खबर छापेको छ ।
भ्रष्टाचार आरोपमा ११० र सरकारी जग्गा जफत गर्ने प्रयोजनका लागि ६५ जनालाई प्रतिवादी बनाएर अख्तियारले मुद्दा दायर गरेको हो । अख्तियारले १७५ जनासँग गरेर २० अर्ब रुपैयाँको बिगो दाबी गरेको समाचारमा उल्लेख छ ।
यस्तै आजको नागरिक दैनिकले दशककै हाइप्रोफाइल भ्रष्टाचार काण्डः पूर्व उपप्रधानमन्त्रीसहित १७५ जनाविरुद्ध मुद्दा शीर्षकमा खबर छापेको छ । अन्नपूर्ण पोस्ट्ले ललिता निवास अतिक्रमण प्रकरणः १७५ विरुद्ध भ्रष्टाचार मुद्दा शीर्षकमा खबर लेखेको छ ।
यो विषयसँगै जोडेर कान्तिपुरले कांग्रेस उपसभापतिसमेत रहेका विजयकुमार गच्छदारको राजनीतिक यात्रामा धक्का लागेको विषयलाई पनि प्राथमिकताका साथ छापेको छ ।
नागरिक दैनिकले पनि गच्छदारविरुद्ध मुद्दा दायर भएसँगै उनको सांसद पद निलम्बनमा परेको र कांग्रेस असन्तुष्ट बनेको विषयलाई महत्वका साथ प्रकाशित गरेको छ ।
यो विषय बाहेक आजको अन्नपूर्ण पोस्ट्ले भने कोरोना भाइरसको सन्त्राससँगै सरकारले चिनियाँ पर्यटकको विकल्प खोज्न सुरु गरेको विषयलाई पनि महत्वका साथ छापेको छ ।