बुधबार, भदौ ३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • 'मुटु नभएका' सम्पादकसँग प्रधानमन्त्रीको तीन घण्टा, के के भयो कुरा ?

'मुटु नभएका' सम्पादकसँग प्रधानमन्त्रीको तीन घण्टा, के के भयो कुरा ?

सधैं प्रेसप्रति आक्रामक देखिने ओली मंगलबारको तीन घण्टा लामो कुराकानीमा रक्षात्मक रुपमा प्रस्तुत भएका थिए ।
 |  बुधबार, माघ २२, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, माघ २२, २०७६

काठमाडौं- राजधानीबाट प्रकाशित बुधबारका राष्ट्रिय दैनिक अखबारहरुले सम्पादकहरुसँग प्रधानमन्त्री केपी शर्मा ओलीले तीन घण्टा सँगै बसेर गरेको कुराकानीलाई मुख्य समाचार बनाएका छन् ।

सरकारका सकारात्मक पक्षबारे नलेखेको आरोप लगाउँदै नेपाली सम्पादकहरूको मन र मुटु छैन भन्दै यसअघि गुनासो गरेका प्रधानमन्त्री ओलीले लामो अन्तरालमा मंगलबार सम्पादकहरुसँग भलाकुसारी गरेका हुन् ।

सधैं प्रेसप्रति आक्रामक देखिने ओली मंगलबारको तीन घण्टा लामो कुराकानीमा रक्षात्मक रुपमा प्रस्तुत भएको आजका पत्रपत्रिकाले लेखेका छन् । त्यति मात्रै होइन, कम सुन्ने र बढी बोल्ने गरेका उनले सम्पादकहरुसँगको छलफलमा सम्पादकलाई दुई घण्टा बोल्न दिए भने आफू एक घण्टा बोले ।

यसै विषयलाई मुख्य समाचार बनाउँदै आजको कान्तिपुर दैनिकले प्रधानमन्त्रीको फेरिएको अवतार शीर्षकमा खबर लेखेको छ ।

समाचारमा लेखिएको छ- प्रधानमन्त्री ओलीले सरकारको कार्यशैलीदेखि एमसीसी, केन्द्रीय समिति बैठक, मिर्गौला प्रत्यारोपण, यती प्रकरण, ललिता निवासदेखि पुष्पकमल दाहालसम्म अनेक प्रसंगबारे बोले, तर निकै नरम शैलीमा । विगतमा जस्तो कटाक्ष भरिएका आक्रामक शब्दावली सायद सोचेरै प्रयोग गरिएन । प्रधानमन्त्री ओलीको यस्तो रक्षात्मक अवतार विरलै देखिने गर्छ ।

सरकारले विभिन्न नियम–कानुन ल्याएर आमसञ्चार, सामाजिक सञ्जाल र नागरिकको अभिव्यक्ति स्वतन्त्रतामाथि अंकुश लगाउने प्रयत्न किन गरेको भन्ने धेरैजनाको प्रश्नमा प्रधानमन्त्रीको प्रस्टीकरण थियो, ‘प्रेस स्वतन्त्रतालाई सीमित गर्ने वा आम स्वतन्त्रताको हक कुण्ठित गर्ने काम कुनै हालतमा हुँदैन । कहींकतै गल्ती वा त्रुटि भएको छ भने त्यसलाई सच्याइनेछ ।’

यस्तै आजको अन्नपूर्ण पोस्ट्ले म तीन वर्षै प्रधानमन्त्री चलाउँछु शीर्षकमा मुख्य समाचार छापेको छ। उनले छिट्टै मिर्गौला प्रत्यारोपण गरी बाँकी तीन वर्ष आफैं निरन्तर सरकार चलाउने बताएको समाचारमा उल्लेख छ ।

समाचारमा लेखिएको छ– ‘अब तीन वर्षसम्म म प्रधानमन्त्री रहने हो। म छिट्टै किड्नी ट्रान्सप्लान्ट गर्छु,’ प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार सम्पादकहरूसँग ओलीले भने, ‘अलि–अलि किड्नीमा समस्या छ। किन अलि–अलि समस्या राख्ने आजको जमानामा पनि ? ’

एउटा मिर्गौला थप्नु ठूलो कुरा नभएको उल्लेख गर्दै प्रधानमन्त्रीले भने, ‘किन किड्नी राख्न खोजेको हो भने तीन वर्ष बेस्सरी काम गर्न सजिलो होस्। अहिले भन्दा सजिलोसँग बढी काम गर्न सकियोस् भन्ने हो।’

यस्तै नागरिक दैनिकले पनि बाँकी तीन वर्ष मेरै सरकार शीर्षकमा मुख्य समाचार छापेको छ । नयाँ पत्रिकाले भने सम्पादकहरुसँग प्रधानमन्त्रीले गरेको भलाकुसारीलाई पहिलो पृष्ठमा स्थान दिएको छैन ।

नयाँ पत्रिकाले कुखुराको मासु र अण्डाको मूल्य अहिलेसम्कै उच्च विन्दुमा पुगेको विषयलाई मुख्य समाचार बनाएको छ।

कुखुराको मासु किलोको ४२० र अन्डा प्रतिगोटा १५ रुपैयाँः व्यवसायीले ३० लाख चल्ला र तीन करोड अन्डा नष्ट गरेपछि मूल्य अहिलेसम्मकै उच्च शीर्षकमा उसले खबर लेखेको छ ।

यस्तै चीनबाट नेपाली विद्यार्थी फर्काउने विषयमा भएको तयारीलाई पनि आजका पत्रपत्रिकाले प्राथमिकताका साथ छापेका छन् । नागरिक दैनिकले पूर्ण रुपमा तयारी गरेर मात्रै नेपाली चीनबाट लैजान चीनले आग्रह गरेको खबर लेखेको छ ।

कान्तिपुर दैनिकले न्यारोबडी खरिदमा नेपाल वायु सेवा निगमका अधिकारीले ४ करोड २८ लाख घुस लिएको खुलासा भएको विषयलाई प्राथमिकताका साथ छापेको छ । यस विषयमा छानविन गर्न संघीय संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिले निदेशन दिएको छ ।

प्रकाशित: Feb 05, 2020| 07:14 बुधबार, माघ २२, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।