जनकपुरधाम– प्रदेश नम्बर २ का भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले आन्दोलनबाट प्राप्त उपलब्धि रक्षाका लागि सबैसँग सहकार्य गर्न तयार रहेको बताएका छन्।
राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल प्रदेश २ को संसदीय दलका नेतासमेत रहेका मन्त्री सोनलले समृद्ध प्रदेश बनाउन सम्पूर्ण राजनीतिक दलसँग सहकार्य गर्न आवश्यक भएको पनि सुनाए।
प्रदेश सभा २ को दोस्रो वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री सोनलले भने, ‘उपलब्धि रक्षाका लागि सबैसँग सहकार्य गर्न तयार छौं। प्रदेशलाई समृद्ध बनाउने जिम्मेवारी सबै दलका सांसदहरुको पनि छ।’
मन्त्री सोनलले आन्दोलनबाट प्राप्त अधिकारलाई संस्थागत गर्दै थप अधिकारका लागि संघर्षको नीति आवलम्बन गर्ने जनाए। स्रोतसाधनको कमी भए पनि प्रदेश सरकारले उल्लेखनीय काम गरेको उनले बताए। ‘प्रदेश सरकारसँग जनता अपेक्षामा धेरै छ। तर, हामीसँग स्रोतसाधनको कमी छ। स्रोतको कमी भएपनि अपेक्षाभन्दा राम्रो काम गर्दै सरकार अगाडि बढेको छ,’ उनले भने।
भौतिक पूर्वाधार र सिँचाइको क्षेत्रमा राम्रो काम भएको दाबी गर्दै मन्त्री सोनलले भने, ‘संघले प्रदेशलाई अरु बजेट दिनुपर्छ। संघीयतालाई बलियो बनाउन बजेट थप नगरी नहुने अवस्था छ।’