काठमाडौं– एक महिनादेखि रिक्त रहेको चितवन प्रहरी प्रमुखको जिम्मेवारी प्रहरी उपरीक्षक (एसपी) नातीराज गुरुङलाई दिइएको छ। प्रहरी प्रधान कार्यालयले मंगलबार ८ जना एसपीको काज सरुवा गर्दै गुरुङलाई चितवन र गंगा पन्तलाई पर्सा प्रहरी प्रमुखको जिम्मेवारी दिएको छ।
यसअघि चितवनमा सरुवा गरिएकी पन्त राजनीतिक दबाबका कारण जान सकेकी थिइनन्।
प्रहरी प्रधान कार्यालयका प्रवक्ता शैलेश थापा क्षेत्रीले ८ जना एसपीको काज सरुवा भएको जानकारी दिए। थापाका अनुसार पन्तलाई पर्सा पठाएर त्यहाँका एसपी सोमेन्द्रसिंह राठौरलाई महानगरीय प्रहरी परिसर टेकु ल्याइएको छ।
यस्तै कृष्ण पंगेनीलाई बारा र विकासराज खनालाई दंगा नियन्त्रण गण सुनवल पठाइएको छ। दीपक रेग्मीलाई पूर्वी नवलपरासीको जिम्मा दिइएको छ भने मोहनप्रसाद पोखरेल गण्डकी प्रदेश प्रहरी कार्यालय र अशोक सिंहलाई प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखामा काज सरुवा गरिएको छ।
यसअघि प्रहरी प्रधान कार्यालयले पुस ४ गते २५ जना एसपीको सरुवा गरेको थियो। जसमा चितवनका तत्कालीन एसपी दानबहादुर मल्लको विमानस्थल सुरक्षा प्रहरी कार्यालयमा सरुवा भएको थियो।